काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल जारी

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १३ : ०८
काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल जारी

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफलमा जुटेका छन् । आगामी रणनीति बनाउन उनीहरु छलफलमा जुटेका हुन् । 

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा काँग्रेसबाट, देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

काँग्रेस, माओवादी र जसपाको यादव पक्षले आगामी रणनीति बनाउन छलफल भइरहेको भानुले जानकारी दिए  । वैकल्पिक सरकार निर्माणमा सफल हुन नसक्नुको कारणबारे पनि  छलफलमा समीक्षा भइरहेको छ ।

देउवा, प्रचण्ड र उपेन्द्रबीच वैकल्पिक सरकार बनाउने प्रयास हिजो असफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत दिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार निर्माणका लागि आह्वान गरेकी थिइन् । तर उनीहरुले बहुमत दाबी पेस गर्न सकेनन् ।

त्यसपछि राष्ट्रपति भण्डारीले हिजो नै संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । अब ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ  ।

प्रतिक्रिया दिनुहोस