काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न लागेको हो ।
नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार बसेको नगरस्तरीय सुरक्षा समितिको बैठकले काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ र १४ गते निर्णयलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।
यस्तै सम्पूर्ण नगरबासीलाई मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घर वा चोकमा अनावश्यकरूपमा भीडभाड नगर्न, जुवातास नखेल्न तथा मदिरा सेवन नगर्न आग्रहसमेत गरेको छ ।
चन्द्रागिरिले बिहान बेलुका सञ्चालन हुने पसलमा जाने सेवाग्राहीले साबुन पानीले वा सेनिटाइजरले हात धुने व्यवस्था गर्ने, बिक्रेता तथा सेवाग्राहीले अनिवार्यरूपमा मास्क्को प्रयोग गर्ने व्यवस्थासमेत मिलाउनुपर्ने बताएको छ ।
निषेधाज्ञाको समयमा चन्द्रागिरिका वडा कार्यालय भने खुल्ने भएका छन् । सेवाग्राहीको अत्यावश्यक सेवालाई ध्यानमा राखेर आलोपालो नगरपालिका तथा वडा कार्यालय खोल्ने बैठकले निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ बैशाख २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय