बाँके । चार दिनअघिको एउटा घटना । नेपालगन्जस्थित कोरोना उपचार केन्द्र भेरी अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीले स्टाफ नर्स सुनिता सहाकारीलाई तीन औंला देखाएर केही भन्न खोजिरहे । व्यक्त नगरे पनि स्वास्थ्यकर्मीले बिरामीको भाषा अनुमान गर्न सक्छन् ।
सुनिताका अनुसार ती युवा आत्तिएका थिए । ‘म तीन घण्टा मात्रै बाँच्छु भनेर इसारा गरेजस्तो लाग्यो,’ सुनिताले उक्त पलबारे सुनाइन्, ‘मैले उनको ख्याल गरिरहें ।’ सास रहुन्जेल आस रहन्छ भनेजस्तै सुनिताले औषधि लगेर खुवाइन् । ढाडस दिइन् । ती संक्रमित युवक छटपटाइरहे । तीन घण्टापछि उनी शान्त भए । ‘औषधिले काम गरेर शान्त भएजस्तो ठानें,’ उनले भनिन्, ‘तर सधैंका लागि शान्त भइसकेका रहेछन् ।’
बिरामीको त्यो भाव र उनलाई बचाउन नसक्नुको पीडाले सुनितालाई अहिले पनि पोलिरहेको छ । ‘अहिले दिनहुँ मृत्यु देख्नु परिरहेको छ,’ उनले भनिन्, ‘महामारी कस्तो हुन्छ भन्ने बल्ल देखें ।’ कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–९ की सुनिता आफैं कोरोना संक्रमित हुन् । ६ दिनअघि उनमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमित भएपछि आफू आइसोलेसनमा बस्नुपर्थ्यो तर उनी बिरामीको सेवामा खटिइरहेकी छन् । आफू संक्रमित हुनुभन्दा डेढ महिनाअघि उनले रक्त क्यान्सरका कारण श्रीमान् गुमाउनुपरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ बैशाख २०७८, ०७ : ५४
लेखकबाट थप