काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि जनाएको छ ।
उच्च स्रोतका अनुसार मन्त्रालयले चैतदेखि नै विद्यालय बन्द गरेर भीडभाड हुने सम्पूर्ण कार्य बन्द गर्न सिफारिस गरे पनि सरकारले यथोचित निर्णय नगर्दा स्थिति भयावह बन्दै गएको हो । ‘हामीले विद्यालय नखोलौं, भारतबाट आउने विमानलाई रोकौं, स्थलमार्गबाट पनि भारतीयको प्रवेश रोकौं, जात्राहरू हुन नदिऊँ भनेका थियौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर हाम्रो कुरा कसैले सुनेनन् ।
अब अहिले अवस्था यस्तो आयो ।’ उक्त स्रोतका अनुसार अहिलेकै स्थिति एक साता चल्ने हो भने काठमाडौंको स्वास्थ्य पूर्वाधार पूर्ण रूपमा धराशायी हुन सक्छ । ‘बेलायतमा म्युटेसन देखिँदा उडान बन्द गर्ने, भारतलाई खोल्ने ?’ स्रोतले भन्यो ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने अहिले नै हरेस खानुपर्ने अवस्था नरहेको भन्दै ढाडस दिन खोजेका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा धेरै अस्पताल रहेका कारण अवस्था असहज भइसकेको छैन । विशेषगरी बाँकेमा समस्या देखिनुको कारण उक्त स्थान कर्णाली प्रदेशको समेत उपचारको केन्द्र भएकाले हो ।
‘बाँकेमा कर्णालीबाट पनि उपचार गराउन मान्छेहरू आउँछन्, त्यसैले स्वास्थ्य पूर्वाधार चाँडै भरिएको हो,’ उनले भने, ‘हामीले नेपालगन्ज मेडिकल कलेजसँग पनि कुरा गरेर बेड थप्ने तयारी गरेका छौं ।’ उनले सरकारले सबै प्रदेशमा नेपाली सेनालाई प्रयोग गरेर होल्डिङ सेन्टर बनाउने तयारी गरिसकिएको जानकारी दिए । ‘अबका दिनमा धेरै आवश्यक पर्ने भनेको अक्सिजन र बेड नै हो,’ उनले भने, ‘बेडका लागि सेनालाई भनेर होल्डिङ सेन्टरहरू बनाउँछौं । सिलिन्डर भने धेरै चाहिन्छ । हामीले अर्थ र पराष्ट्र मन्त्रालयलाई पनि त्यो प्राप्त गर्नका लागि सहयोग गर्न भनेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ बैशाख २०७८, ०८ : ०४
लेखकबाट थप