संस्कृतिको संरक्षणमा आठौँ पटक जिब्रो छेडेका बुद्धकृष्ण

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १६ : ०४
संस्कृतिको संरक्षणमा आठौँ पटक जिब्रो छेडेका बुद्धकृष्ण

काठमाडौं ।  बुद्धकृष्ण बाग श्रेष्ठलाई नचिन्ने कमै होलान् । उनले यसकारणले चर्चित छन्, जसले आठौँ पटक जिब्रो छेडेका छन् । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध जात्रा हो ‘जिब्रो छेड्ने जात्रा’  । सोही जात्रामा यस वर्ष पनि बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेडेका छन् ।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन सकेन । विरक्तियो बुद्धकृष्णको मन । यसपटक उनले फेरि जिब्रो छेड्ने अवसर पाएका छन् ।  इतिहासमै पहिलोपटक रोकिएको यो जात्रालाई निरन्तरता दिन ४८ वर्षीय वुद्धकृष्णले आठौं पटक जिब्रो छेडेर इतिहास रचेका छन् । 

मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । बुद्धकृष्ण हजारौँ भक्तजनको उपस्थितिम जिब्रो छेडेका छन् । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्नेछन् र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

यतिबेला सँस्कृति र सम्पदाको धनी भक्तपुरको बोडे अहिले बिस्का जात्राले छोपिएको छ । बिस्काको रमाइलोसँगै यही समयमा बुद्धकृष्णले जिब्रो छेडे । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । यो बोडेको मात्र होइन, देशकै साँस्कृतिक परिचय बनेको छ। बिस्कामा बोडेबासीसँगै बाह्य र आन्तरिक गरेर हजारौँ पर्यटक रमाउँछन् । 

बुद्धकृष्ण उनै व्यक्ति हुन् जसले आठौँ पटक जिब्रो छेडेर इतिहास रचेका छन् । जात्रा लोप हुने संकट आइपरेपछि २०६२ सालमा उनले पहिलोपटक जिब्रो छेडाएका थिए । लगातार चार वर्ष जिब्रो छेडाएका उनले पाँचौ वर्ष पारिवारिक कारणले निरन्तरता दिन सकेनन् ।

बुद्धकृष्णलाई समस्या पर्दा जुजुभाइ श्रेष्ठ अगाडि आए । उनले ०६६ सालदेखि लगातार आठ पटक जिब्रो छेडाए । नवौं वर्ष जुजुभाइलाई पारिवारिक समस्या आइपर्‍यो । ‘अब जिब्रो कसले छेडाउला त ? बोडेबासीको मनमा अनेक तर्कना चलिरहेका बेला ०७४ सालमा उनै बुद्धकृष्ण पाँचौ पटक जिब्रो छेडाउन तयार भए । गत वर्ष कोरोनाले उनले जिब्रो छेडाउन पाएनन् । यसपटक आठौँ पटक जिब्रो छेड्न उनै बुद्धकृष्ण आए । 
सँस्कृतिको जगेर्ना र देशबासीको भलाइ हुने विश्वासका साथ बुद्धकृष्ण जसरी पहिलोपटक जिब्रो छेडाउन तयार भएका थिए, उसैगरी आठौँ पटक पनि तयार भए ।

जिब्रो छेड्ने प्रचलनको किम्बदन्ती 

पहिलो किम्बदन्ती

बोडे तल धर्मपुरमा रहेको नीलबाराहीको दायाँबायाँ बस्ने भूत, पिचास, ख्याकहरुले मान्छेको रुप धारण गरी कहिले खेतिपातिमा सघाउथे भने कहिले भोज भतेरमा आउने गर्थे । वनदेवी रिसाएका बेला भने सक्कली रुप देखाएर तर्साउने, दुःखकष्ट दिने गर्दथे । त्यसैले धर्मपुरबाट मानिसहरु बोडेमा सरे । बस्ती सार्दा पनि ख्याकले दुःख दिन नछाडेपछि तान्त्रिकको खोज्दा भेटियो, देवपतनका भिमदत्त कर्माचार्य ।

भीमदत्तले तान्त्रिक विधिअनुसार बोडेलाई घेरेर नदेखिने पासो थापे, जसमा ख्याक परेको थियो । निलबाराही ढोकाको पाले ख्याकको स्वरुप देखेर रिसाएका गाउँलेले कसैले कपाल तानिदिने, कसैले लुगा फुकालिदिने, कसैले भाग्ला भनेर खुट्टा समाउने, कसैले जिब्रो छेडाउने गरिदिए । दुःख सहन नसकेको ख्याकले गाउँलेलाई केही नगर्ने र सात वर्षसम्म उनीहरुको अघि आएर जिब्रो छेडाउने बाचा गरेपछि महालक्ष्मी मन्दिरमा लगेर जिब्रोमा छेडेको सियो झिकिदिएका थिए ।

तर यो निलबाराहीलाई मन नपरेकाले गाउँलेलाई दुःख भइरह्यो । तान्त्रिक भिमदत्तको सपनामा निलबाराही प्रकट भएर तन्त्र जान्यो भन्दैमा ख्याकलाई दुःख दिन नहुने बताइन् । त्यसैले क्षमापूजा गर्नुपर्ने भयो, जुन जिब्रो छेड्ने अघिल्लो दिन अहिलेसम्म पनि गरिन्छ ।

निलबाराहीले ख्याकलाई दुःख नदिनु, देश र जनताको हित गर्न अरु मानिसलाई बोलाएर पनि जिब्रो छेडाउन सकिन्छ भिमदत्तको सपनामा भनेकी थिइन् । तर, सात वर्षसम्म ख्याकको जिब्रो छेडाएपछि आठौँ वर्ष जात्रा छाड्दा केही नराम्रो होला कि भन्ने डर र जात्रा मनाउँदा रमाइलो हुने भएकाले स्थानीयकै जिब्रो छेडाएर जात्रा निरन्तर गरे ।

दोस्रो किम्बदन्ती 

धर्मपुरमा मान्छेहरु खेतिकिसानी गरेर परिवार चलाइरहेका थिए । धर्मपुरदेखि माथिको डाँडा बोडेमा भने उस्तो आवतजावत थिएन । त्यसैले बोडेमा के छ भन्ने थाहा थिएन ।

बस्ती छाडेर माथिल्लो डाँडामा जान उनीहरुलाई डर पनि भयो । यस्तैमा एक दिन आगो बोकेर डाँडाबाट कोही आएको जस्तो देखियो । आगो बोकेर को आयो भनेर मान्छेहरु हेर्न गए । बत्ति बोकेको मान्छेको पछिपछि लाग्दा महालक्ष्मी मन्दिर भएको ठाउँमा आगो बोकेको मान्छे अलप भयो । अर्को दिन पनि त्यसैगरी आगो बोकेर आएको मान्छे देखियो । कहाँ गयो भनेर हेर्दा कालिकामाई भएको ठाउँनेर अलप भयो ।

हातमा आगो बोकेको, जिब्रो निकालेको स्वरुप हरेक रात आउने र मन्दिरमा पुगेर अलप हुने गरिरहेको थियो । हरेक दिन मान्छे त्यही स्वरुपलाई पछ्याउँदै जाँदा मन्दिरको परिक्रमा गरिरहेका थिए । त्यो उनीहरुको नियमित काम जस्तो बन्न थाल्यो ।

महालक्ष्मीको मन्दिरभित्र गएर सिद्ध भएकाले जिब्रो छेडेर आउने स्वरुप भैरवको भएको र भैरवले त्यही कुरा निरन्तर गरुन् भनेर आराधना गरेको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थाले ।

वर्षमा एक दिन भएपनि सबै मान्छे भैरवले जस्तै देउता घुमौँ भनेर लाग्दा त्यसले त जिब्रो पनि निकालेको थियो नि भन्ने कुरा उठ्यो । त्यसैले मानिसहरुले जिब्रो छेडेर लगातार जिब्रो निकाल्दै मन्दिरहरु परिक्रमा गर्ने काम गर्न थाले । त्यसले खेतिपातिसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरियो । त्यसैले अहिले पनि जिब्रो छेड्ने, चिराग लिएर जाने गरिन्छ । महालक्ष्मी मन्दिरको माटो हालेपछि जिब्रोमा छेडिएको घाउ ठिक हुन्छ भन्ने विश्वासमा त्यसै गरिन्छ ।

प्रतिक्रिया दिनुहोस