नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत खरिद गर्न पायो स्वीकृति

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १४ : ३१
नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत खरिद गर्न पायो स्वीकृति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ ।भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ ।

अव प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिश्पर्धी दरमा आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत व्यापारका लागि यसको ऐतिहासिक महत्व रहेको छ’, शाक्यले भने। ‘ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत व्यापारका लागि अर्को स्टेपसमेत खुल्ला भएको छ ।’

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत वर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिएको कार्यकारी निर्देशक शाक्यले बताए ।

प्राधिकरणले अहिलेसम्म एनटिपिसी विद्युत निगम लिमिटेड एनभीभीएन, पावर ट्रेड कम्पनी पिटिसी र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत खरिद गर्दै आएको छ । अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिने शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस