धनगढीको आइकोनिक प्लेयरमा किरण चेम्जोङ

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १४ : १२
धनगढीको आइकोनिक प्लेयरमा किरण चेम्जोङ

काठमाडौं ।राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग एनएसएलका लागि धनगढी फुटबल क्लबसँग अनुबन्धित भएका छन् ।वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुने एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो ।अघिल्लो साता मात्र एसियाली फुटबल महासंघ एएफसीका उत्कृष्ट फुटबलर घोषित भएका किरण पछिल्लो समय भारतमा व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

धनगढीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबार किरणलाई आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १४ जना खेलाडी पनि किनिसकेको छ ।

धनगढीले अक्सनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई किनेको थियो ।

आइकोनिक प्लेयरको रूपमा सार्वजनिक भएसँगै किरणले पाँच वर्षपछी राष्ट्रिय फुटबलमा फर्किनका लागि आफू उत्साहित रहेको बताए ।‘पाँच वर्षपछि डोमेस्टिक फुटबलमा फर्किन सुपर एक्साइटेड छु,’ किरणले भने, ‘कर्पोरेटले लगानी गरेर नेपाली फुटबलमा नयाँ मोड ल्याएकोमा धनगढीका अनर सुवाषलाई धन्यवाद् ।’

एनएसएलका लागि क्लबहरूले राम्र विदेशी खेलाडीहरू भित्र्याइरहेको बताउँदै किरणले भने( एनएसएलका लागि उत्कृष्ट खेलाडी देखिरहेको छु । यस्ता खेलाडीहरूको सहभागीताले नेपाली फुटबललाई माथिल्लो स्तरमा पुर्‍याउँछ भन्ने विश्वास छ ।’

सुपर लिगमा मुख्य प्रशिक्षकको रूपमा आफूलाई मौका दिएकोमा प्रशिक्षक युगलले क्लबलाई धन्यवाद् दिँदै फ्रेन्चाइज लिगको सुरुआत फुटबलको विकासका महत्त्वपूर्ण हुने बताए ।

‘म धनगढीलाई जित दिलाउन आफ्नो पक्षबाट सबै कुरा दिन तयार छु,’ किरणले भने । क्लबले बिहीबार नै एनएसएलका लागि मुख्य प्रशिक्षकको रूपमा पूर्व राष्ट्रिय खेलाडी युगल किशोरा राईलाई नियुक्त गरेको छ । मनाङ मर्स्याङ्दी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसकेका तोपे फुजालाई प्रशिक्षकको रूपमा अनुबन्ध गरिसकेको छ ।

‘फुटबलको विकास हुन गाह्रो भएको देशमा फ्रेन्चाइज लिग हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ प्रशिक्षक युगलले भने, ‘हाम्रो अगाडि धेरै चुनौती छन्, त्यसका बावजुद् नयाँ युगको प्रारम्भ भएको छ ।’धनगढीले ‘विन विद् ब्युटिफुल गेम’ डेलिभरी गर्ने प्रशिक्षक युगलले बताए ।

प्रतिक्रिया दिनुहोस