स्वर्गद्वारी जीप दुर्घटना : आफन्तले बुझे मृतकको शव, पाँच दिन प्रशासन बन्द

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १३ : ३३
स्वर्गद्वारी जीप दुर्घटना : आफन्तले बुझे मृतकको शव, पाँच दिन प्रशासन बन्द

गुल्मी । गुल्मीबाट नयाँ वर्ष मनाउन हिडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको जिप बुधबार दुर्घटनामा परेको थियो । प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइएको छ ।  

मृतक प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो । अन्य ४ जनाको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोकसभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

शोकसभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्लास्थित राजनीतिक दलका नेता, आफन्तलगायतले श्रद्धाञ्जली दिएका थिए । धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।

५ दिन प्रशासन बन्द

दुर्घटनामा परी कर्मचारीको निधन भएको शोक जिल्ला प्रशासन कार्यालय गुल्मी पाँच दिन गरिने भएको छ । बुधबार भएको जीप दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो ।

दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले बताए ।

७ जनाको उपचार काठमाडौंमा

दुर्घटनामा गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । दुर्घटनामा परेर घाइते भएका ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस