भरतपुर । चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार चालु आव २०७७र०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् ।
मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको हालसम्म रु ६३ हजार ५०० राजस्व सङ्कलन गरिएको पौडेलले जानकारी दिए ।
क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, नाक मुख बाँधेर पशु ओसारपसार गर्नु, चेकपोष्टमा दरपिट नगरी आउनु, पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र नलिई आउनुलगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ ।
पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एकापसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्नेलगायतका कुरा मापदण्डमा उल्लेख छ ।
डा।पौडेलका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुनुहुँदैन । स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँदै डा. पौडेलले यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपक्षी अन्वेषण प्रयोगशाला, भरतपुरमा पठाएर जाँच गर्न लगाइने बताए ।
चल्लाको हकमा बिक्री अनुमतिपत्रको आधारमा ढुवानी गर्न दिइने गरेको उनले जनाए ।
पशु चिकित्सक डा पौडेलका अनुसार एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गराउँदा पशु स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । जाँच गरिएको प्रमाणपत्र देखाउन चितवन जिल्ला प्रवेश गरेका सबै पशुपक्षी ढुवानी गरेका सवारी रामनगर पुर्याउनुपर्ने हुन्छ ।
पश्चिमबाट पूर्व लैजान खोजिएका तथा पूर्वबाट पश्चिम लैजान खोजिएका पशु ढुवानी गरेका सवारीले चितवन आएपछि रामनगर लगेर प्रमाणपत्र देखाई दरपिट गर्नुपर्ने हुन्छ । पशु क्वारेन्टाइन जाँच गर्ने चौकीको नै देशमा कमी छ ।
चितवनबाट नजिक रहेका अरु पशु क्वारेन्टाइन चेकपोष्ट पूर्वतर्फ बाराको पथलैया, पश्चिममा दाङको भालुवाङ र काठमाडौँको नागढुङ्गा हुन् । काठमाडौँ लैजान लागिएको हकमा रामनगरमा जाँच भएपछि पुनः नागढुङ्गामा जाँच गरिन्छ ।
पोखरा लैजान लागिएको हकमा भने रामनगर नै अन्तिम जाँचस्थल हो । हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा–भैँसी राजधानीलगायतका शहरमा ढुवानी गरिन्छ । यस्तै विभिन्न स्थानबाट खसीबोकासहित विभिन्न पशुपक्षीको ढुवानी हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ बैशाख २०७८, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व सांसदलाई पनि एमालेले गर्यो कारवाही
४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा