बूढानीलकण्ठमा देउवाले बोलाएको तीन दलको बैठक शुरू

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १६ : २२
बूढानीलकण्ठमा देउवाले बोलाएको तीन दलको बैठक शुरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको  तीन दलको बैठक बूढानीलकण्ठमा सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा शुरू भएको हो।

भावी सत्ता समीकरणका विषयमा छलफल गर्न देउवाले तीन दलको बैठक बोलाएका हुन् । यसअघि कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । यद्यपि शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अन्य दलको नेतृत्वमा पनि सरकार गठन गर्न सकिने संकेत गरेका छन् ।

जसपाका नेताहरू ढिला गरी पुग्दा ३ बजेका लागि बोलाइएको बैठक ४ बजे मात्र शुरू भएको छ । देउवा निवासमा प्रवेश गर्नुअघि जसपाका शीर्ष नेताहरूले छुट्टै छलफल गरेको स्रोतको दाबी छ ।

सत्ता समीकरणमा निर्णायक बनेको जसपा वर्तमान सरकारलाई समर्थन दिने कि नयाँ सत्ता समीकरण बनाउने भन्नेमा अनिर्णित छ ।

प्रतिक्रिया दिनुहोस