चोटका कारण सुपर लिगबाट नाम फिर्ता लिए सुजलले

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १५ : ०४
चोटका कारण सुपर लिगबाट नाम फिर्ता लिए सुजलले

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य तथा चर्चित खेलाडी सुजल श्रेष्ठले नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिग गुमाउने भएका छन् । घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपको पहिलो खेलमै ‘क्राफ्ट’ को इन्जुरी बल्झिएपछि उनको लिग खेल्ने सपना यसपाली अधुरै रहने भएको हो ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि नेपालमै पहिलो पटकफुटबलको अक्सन चैत ६ गते भएको थियो । सोही अक्सनमा सर्वाधिक मुल्य दुई लाख रुपैयाँ विक्री भएका थिए, मिडफिल्डर सुजल । ‘ए’ डिभिजन लिग च्याम्पियन, १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कप्तान सुजललाई पोखरा थन्डर्सले अनुबन्ध गरेको थियो ।

तर, चिकित्सकको सल्लाहअनुसार चार हप्ता कम्तिमा आराम गर्नुपर्ने भएपछि नेपाल सुपर लिगका लागि अनुबन्ध भएको पोखरा थन्डर्सबाट नाम फिर्ता लिएको सुजलले बताए ।

चोटका कारण ए डिभिजन लिगको अन्तिमका केही खेलका क्रममा मैदान बाहिर सुजल ।‘नेपालमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग खेल्नलाई उत्साहित थिएँ,’ उनले नेपाल प्रेससँग भने, ‘थ्री नेसन्स कपको पहिलो खेलमै इन्जुरी बल्झियो । अनि नाम पनि फिर्ता लिएँ ।’

फुटबल नेखेल्ने भए पनि पोखरा थन्डर्सको साथ चाहिँ उनले छोड्ने छैनन् । उनको भूमिका खेलाडीबाट टिम म्यानेजरमा फेरिएको छ । ‘मलाई टिम म्यानेजर पो बनाएको छ त‘’ सुजलले हाँस्दै भने, ‘खेल्न नसक्ने भए पनि टोलीसँगै बस्छु, ट्रेनिङ पनि गर्छु ।’

मच्छिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेका सुजल पछिल्लो समय नेपाली फुटबलको चर्चित नाम हो ।घरेलु मैदानमा गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलुकदको स्वर्ण विजेता कप्तानसमेत हुन्, सुजल ।

त्यसैले पोखरा थन्डर्सले सुपर लिगका लागि सर्वाधिक २ लाख रुपैयाँ खर्चेर उनलाई किनेको थियो । नेपाली फुटबलमा रुचाइएका प्रशिक्षक नबिन न्यौपानेले उनलाई चुनेका थिए ।सुजलले खेल्न नसक्ने भएपछि उनको स्थानमा विकल्पको खोजी गर्नु परेको पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नबिन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस