आज पनि मुलुकभरको वायु गुणस्तर घातक

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १२ : ५३
आज पनि मुलुकभरको वायु गुणस्तर घातक

file-photo

काठमाडौं । मंगलबार पनि उपत्यकासहित मुलुकभरको वायु गुणस्तर घातक देखिएको छ । डढेलोका कारण फैलिएको बाक्लो तुवाँलोले राजधानीसहितको आकाश ढाकिएको छ ।

सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरेका छन् । दुईदिनदेखि वायुप्रदूषणको अवस्था स्थिर देखिएको छ र केही दिनसम्म यो अवस्था कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वायु गुणस्तर मापन गर्ने सूचक ९एक्यूआइ०का अनुसार मंगलबार नेपाली राजधानी संसारकै प्रदूषित सहरको पहिलो स्थानमा छ । काठमाडौंको एक्यूआइ ३१३ पीएम मापन गरिएको छ । पाकिस्तानको लाहोर र बंगलादेशको राजधानी ढाका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली चौंथो स्थानमा छ ।

संसारका प्रदूषित मुलुकको सूचिमा भने मंगलबार नेपाल १२ औं स्थानमा छ । पहिलो स्थानमा बंगलादेश छ ।मंगलबार मध्यान्ह काठमाडौंको झम्सिखेलमा ३०६ पीएम र दरबारमार्गको ३०४ पीएम एक्युआइ मापन गरिएको छ । रत्नपार्कको एक्युआइ २१३ पीएम छ । अमेरिकी दूतावासको एक्युआइ २९७ पीएम छ ।

अमेरिकी दूतावासले ट्वीटरमार्फत बाह्य र शारीरिक गतिविधि कम गर्न आग्रह गरेको छ । बरिष्ठ मौसमविद् वरुण पौडेलले अझै केही दिन वातावरण स्थिर हुने बताए । काठमाडौं उपत्यकासहित पश्चिमी पहाडमा फाट्टफुट्ट वर्षा हुने भएपनि त्यसले प्रदूषण नहटाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस