वीरगन्ज । पर्साको वीरगन्ज–ठोरी हुलाकी सडक, निर्माण काम पूरा नहुँदै नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माण गर्न अवरोध गरेपछि ५ किलोमिटर कालोपत्रे नहुँदै हुलाकी सडक हस्तान्तरण गरिएको हो ।
इन्डियन कन्सल्टेन्सीका इन्जिनियर नूर आलम र हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरूपमा रिबन काटेर राजमार्गको उद्घाटन गर्दै नेपाली जनतालाई हस्तान्तरण गर्नुभएको हो । पर्सामा निर्माणाधीन वीरगन्ज–ठोरी हुलाकी राजमार्गअन्तर्गतको सेढवाको चमरीहोलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटर सडकको ठेक्का सकारेको कालिका बानिया जेभीको सम्झौता अवधि सकिएको छ । २०७४ साल कात्तिक १४ गते ठेक्का सकारेको निर्माण कम्पनीले ३९ महिनापछि समय सकिएको हो ।
३० किलोमिटर ठेक्का सकारेको निर्माण कम्पनीले झन्डै ५ किलोमिटरको सडक निर्माण पूरा गर्न बाँकी नै रहेको अवस्थामा इन्डियन कन्सल्टेन्सीले हुलाकी राजमार्ग हस्तान्तरणसमेत गरेको हो । नेपाल सरकारबाट इजाजत पाएको ठाउँसम्म निर्माण कम्पनीले काम पूरा गरेको बताउँदै चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बाँकी काम पूरा हुन नपाएको इन्डियन कन्सल्टेन्सीका इन्जिनियर आलमले बताउनुभयो ।
तत्काल निकुञ्जसँग समन्वय गरी सहज वातावरण बनाइएमा निर्माण कम्पनीले अधुरो काम पूरा गर्न तयार रहेकाले निकास निकाल्नसमेत उहाँले सरोकारवालालाई ध्यानाकर्षण गराउनुभयो । हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले पनि चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण काम पूरा गर्न नसकिएको जानकारी दिनुभयो । हुलाकी राजमार्गमा घरजग्गा परेकाहरुका लागि १ महिनाभित्रै मुआब्जा वितरण थालनी गरिने उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीको तत्काल धरौटी फिर्ता नहुने भएको हुँदा वातावरण निर्माण भए हालकै निर्माण कम्पनीलाई काम पूरा गर्न लगाइने पनि चौधरीले बताउनुभयो ।
निर्माण कम्पनीले सबै काम पूरा गरी कालोपत्रे गर्ने तयारी गरिरहेकै बेला एकाएक चितवन राष्ट्रिय निकुञ्जले काम रोक्न परिपत्र गरेकाले निर्माण कम्पनीले ९५ प्रतिशत काम गरेर बिदा भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० चैत्र २०७७, ०७ : ५९
लेखकबाट थप