धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १५ : ५१
धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन्  । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताए ।

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाईदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताए । धरहरा बनाउने क्रममा सबै भन्दा बढी गाली आफुले खाएको भन्दै उनले  महानगर एकाध समुहको विरोध र नाराबाजी नअल्झेर योजनावद्ध ढंगले अघि बढ्ने स्पष्ट पारे ।

उनले भने “धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा कहिले सम्पदाको नाममा , कहिले अभियन्ताको नाममा यहँका बासिन्दाहरु हेइन, कहाँ कहाँबाट आउँछन् । अवरोध गर्छन् । ४ ५ जना आउँछन् । ब्यानर राख्छन् । जुलुश गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नपर्छ र हामीले पनि सोचेका थियौ त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यवसायीकहरुपले उकास्छ । घरधनी र व्यवसायी दुवैलाई फाईदा हुन्छ ।

दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यो बनाउँदा सबै भन्दा बढी गाली खाने मै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनावद्ध ढंगले अघि बढेको छ । अघि बढ्छ । ”मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ आफ्नै स्थानबाट जिम्मेबार रहेर दायित्वबोध गर्न पनि आग्रह गरे । 

कोभिड १९ को समयमा  महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यका बाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छु भन्दा भन्दै बाहिरीने र भित्रिने काम भएको स्मरण गर्दे उनले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गरे । उनले कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भईसकेकाले एकीकृत रुपमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

व्यवसायीक वातावरण निर्माण तथा व्यवसायको सुरक्षाका लागि महानगर कटिबद्ध रहेको भन्दै उहाँले सुझाव तथा समस्या भए स्पष्ट राख्न पनि आग्रह गरे । उनले संघको नेतृत्व चयन गर्ने क्रममा हुने निर्वाचन पछिको परिणामलाई लिएर मनमुटाव गर्ने, असहयोग गर्ने जस्ता मुल राजनीतिमा देखिए जस्तो दृष्य संघमा नदेखियोस् भन्ने तर्फ पदाधिकारीको ध्यानाकर्षण गराए ।
 

प्रतिक्रिया दिनुहोस