म्यानमारकी नेतृ आङ सान सुकी विरुद्ध थप नयाँ दुई मुद्धा

एजेन्सी

मंगलबार, १८ फागुन २०७७, ११ : ३३
म्यानमारकी नेतृ आङ सान सुकी विरुद्ध थप नयाँ दुई मुद्धा

एजेन्सी । म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीविरुद्ध ‘कु’ गरेको सेना नेतृत्वको सरकाले नयाँ मुद्दा लगाइएको छ । उनीविरुद्ध थप दुइटा मुद्दा लगाइएसँगै सुकी पहिलो पटक देखापरेकी हुन् ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई भिडियोमार्फत राजधानी नेइपिडअस्थित अदालतमा पेस गरिएको छ । फेब्रुअरी १ को ‘कु’ सँगै सुचीलाई सैनिक सरकारले बन्धक बनाएको थियो । 

उनका एक वकिलले सुचीको स्वास्थ्य अवस्था राम्रो देखिएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । ‘मैले उहाँलाई भिडियोमा देखें । उहाँको स्वास्थ्य अवस्था राम्रो देखिन्थ्यो,’ उनका वकिल मिन मिन सोइले भने । त्यस क्रममा सुचीले वकिलसँग भेट्न आग्रह गरेकी थिइन् ।

सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने प्रकारको सूचना प्रकाशन रोक्नेसम्बन्धी उपनिवेशकालीन कानुनअनुसार मुद्दा चलाइएको हो । त्यसैगरी दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको हो । यसअघि सुचीलाई गैरकानुनी रूपमा वाकीटकी राखेको र प्राकृतिक विपद्सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ ।

म्यान्मारमा फेब्रअरी १ को सैनिक ‘कु’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुनःस्थापनाको माग गर्दै आएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीको दमनका कारण हालसम्म २१ जनाको ज्यान गइसकेको छ । आइतबार प्रहरीले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।  लोकतन्त्र पक्षधरहरूले सोमबार पनि यांगुन, दावेई, म्यान्डलेलगायत प्रमुख सहरहरूमा विरोध प्रदर्शन जारी राखेका जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस