नेपाल विद्यार्थी संघले गर्यो माइतीघर मण्डलामा प्रदर्शन, खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, १५ : ५०
नेपाल विद्यार्थी  संघले गर्यो माइतीघर मण्डलामा प्रदर्शन, खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग

काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताए । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताए ।

विद्यार्थीहरुले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजी समेत गरेका थिए । यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्ड समेत बोकेका थिए । 
 

प्रतिक्रिया दिनुहोस