नेकपा प्रचण्ड–माधव पक्षले ल्यायो चौथो चरणको आन्दोलनका कार्यक्रम (विज्ञप्तिसहित)

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, १४ : ३१
नेकपा प्रचण्ड–माधव पक्षले ल्यायो चौथो चरणको आन्दोलनका कार्यक्रम (विज्ञप्तिसहित)

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले चौथो चरणका आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा आइतबार पत्रकार सम्मेलन गरेर चौथो चरणको दसदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

घोषित कार्यक्रम अनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

२०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन, फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम रहेका छन् । 

फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिने भएको छ । 

प्रतिक्रिया दिनुहोस