प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता : मेन्स सिङ्गलतर्फ धामी र वुमन्सतर्फ जेसिकालाई उपाधि

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, १२ : ३९
प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता : मेन्स सिङ्गलतर्फ धामी र वुमन्सतर्फ जेसिकालाई उपाधि

चितवन । विश्व वरियताका तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाललाई चितवनमा सम्पन्न प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगितामा एपीफएका दिपेश धामीले पराजित गरेका छन् । 

चितवनमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ को फाइनलमा मेन्स सिङ्गलतर्फको उपाधि भिडन्तमा एपिएफबाट खेलेका प्रिन्स दाहाल एपिएफकै दिपेश धामीसँग पराजित भएका चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरतले मल्लले बताए । 

शनिबार राति भएको फाइनल खेलमा धामीमले २१–१९ र २२–२० को सोझो सेटमा दाहाललाई हराउँदै उपाधि जितेका हुन् । जितसँगै धामीले १ लाख १५ हजार रुपैयाँ पुरस्कार, ट्रफी प्राप्त गरे भने उपविजेतामै सीमित दाहालले ५५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाए । 

यस्तै प्रतियोगिताअन्तर्गत वुमन्स सिङ्गलतर्फको उपाधि एपीएफकी जेसिका गुरुङले जितेकी मल्लले बताए । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई पराजित गर्दै गुरुङले उपाधि जितेकी हुन् । पहिलो सेट २१–१८ ले जितेकी जेसिका दोस्रो सेटमा १७–२१ ले गुमाइन् । अन्तिम सेटमा पुनरागमन गर्दै जेसिकाले २१–१७ ले नै रसिलालाई हराइन् र उपाधि जितिन् । उनले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा चित्त बुझाएकी रसिलाले ५५ हजार नगद, ट्रफी प्राप्त गरिन् । 

प्रतियोगितामा मेन्स डबलतर्फको विधामा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी पहिलो भएको छ । उनीहरुले ६० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे । त्यसैगरी मेन्स डबल २० ¥याङ्किङतर्फ त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र सुरज महर्जनको जोडी पहिलो हुँदै २५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरे । 

यस्तै ब्याइज अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लबका आयुस्मान नगरी, गल्र्स अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन पहिलो हुँदै ३० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे । यस्तै मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडी, मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहतर्फ चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडी पहिलो हुँदै ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल हात पारेका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिता भरतपुरको कभर्डहलमा चार दिनसम्म सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस