निर्मला र भागरथीका हत्यारालाई पानीमुनिबाट पनि खोजेर ल्याउँछौँ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, १७ : ५२
निर्मला र भागरथीका हत्यारालाई पानीमुनिबाट पनि खोजेर ल्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई पानीमुनिबाट पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन्।

बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई केपी ओली सरकारले कुनै पनि हालतमा नछाड्ने दाबी गरेका छन्। उनले कोभिड भ्याक्सिनलगायत कोरोना रोकथाममा उल्लेख्य काम गरेको दाबी गरे । उनले आफनो नेतृत्वको पार्टीले ५० लाख समानुपातिक मत ल्याउने दाबी पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको बताए। ‘हाम्रा विरोधीहरू त्यसै अत्तालिएका होइनन्, तीन वर्षमा गरेको काम देखेर अझै दुई वर्ष काम गर्न दिने हो भने आफू विलय हुने डरले अत्तालिएका हुन्,’ उनले भने।

आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै ओलीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने बताए। ओलीले अदालतले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी निर्णय नगर्नेमा आफू विश्वस्त रहेको बताए।

प्रतिक्रिया दिनुहोस