प्रतिगमन विरुद्ध काठमाडौंमा महिला मार्च

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, १६ : १३
प्रतिगमन विरुद्ध काठमाडौंमा महिला मार्च

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ ।शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।

आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस