काठमाण्डौमा वाटर एटिएम संञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १५ : २१
काठमाण्डौमा वाटर एटिएम संञ्चालनमा

काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा विहिबार देखि काठमाण्डौमा वाटर एटिएम संञ्चालनमा आएको छ । 

विहिबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन् । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई ३ महिना सम्म सप्लार्यसले नै संचालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ ।

एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए ।

काठमाण्डौमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मुल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ । एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । काठमाण्डौ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैया रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस