कैलालीमा फागुन ३ देखि राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने

रासस

विहीबार, २९ माघ २०७७, १३ : ४१
कैलालीमा फागुन ३ देखि राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने

कैलाली । कैलालीको टीकापुरमा करिब चार वर्षपछि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । अहिले अन्य खेलकूद प्रतियोगिताको आयोजना हुँदै आए पनि भलिबल खेल नभएको भन्दै आगामी फागुन ३ गतेदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पछिल्लो समयमा अन्य खेल विधाको तुलनामा भलिबल ओझेल पर्दै गएको भन्दै स्थानीयस्तरमा त्यसको जगेर्नाका लागि सिर्जनशील युवा समाज नेपालले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक नन्दसिंह विकले जानकारी दिए ।

“स्थानीय सरकारले पनि भलिबल खेललाई  आफ्नो प्राथमिकतामा राख्न सकेन, समुदायमा भएका खेलाडी पनि विस्थापित हुँदै गएका छन्”, खेल संयोजक विकले भन्नुभयो, “यसले कतै भलिबल खेल हराउँदै जाने हो कि भन्ने त्रास पनि बढाएको छ, त्यही भएर पनि खेलको संरक्षणका लागि जनचेतना फैलाउन पनि खेलको आयोजना गर्न लागेका हौँ ।”

उनले भलिबल प्रतियोगितासँगै लागुऔषधविरुद्धको जनचेतनामूलक सांस्कृतिक कार्यक्रमसमेत रहने बताउँदै युवालाई खेल खेलाउनुका साथै खेलप्रति जिम्मेवार भई फुर्सदको समयमा कुलतमा नभई खेलमा जोडिन आह्वान गरिने जनाए। खेलको विजेता टोलीले रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने खेलको दोस्रो र तेस्रोले क्रमशः रु २० हजार, प्रमाणपत्र र रु सात हजार नगद, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस