कलाकार र खेलाडीको रोमाञ्चक क्रिकेट हेर्दा रमायो मन

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, १७ : ४०
कलाकार र खेलाडीको रोमाञ्चक क्रिकेट हेर्दा रमायो मन

चितवन । खेल खेलाडीको हातमा हुन्छ । कला कलाकारको हातमा हुन्छ । कस्तो खेल खेल्ने खेलाडीमा निर्भर हुन्छ, कस्तो कला देखाउने कलाकारमै भर पर्छ । खेलाडी पनि कला देखाउन सक्छन्, कलाकार पनि खेल खेल्न सक्छन् भन्ने पुष्टि आज गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा देखिएको छ । कुनै कम छैनन् क्रिकेट खेल्न कलाकारहरु । कुनै कम छैन खेलाडीको पनि कला । रोमाञ्चकारी क्रिकेट हेर्दा मन नरमाउने दर्शक सायदै होलान् । 

चितवनको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन काठमाडौँ कलाकार र क्रिकेट खेलाडीहरु आए चितवन । कलाकार र खेलाडीबीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा रोमाञ्चकारी खेल हेर्न आउने दर्शसकसमेत धुमधामले रमाएको पाइयो । 

‘खेल त यस्तो पो हुनुपर्छ, पूरा रमाइलो भयो, कलाकार र क्रिकेट खेलाडीको खेलले मनै रमाएको छ’ दर्शक हेमलाल पुरीले भने, ‘कलाकारको खेल हेर्न आएको हो, खुब मन रमाइरहेको छ, रंगशाला क्रिकेट मैदान निर्माणमा सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’

उनीसँगै आएका अर्का साथीले भने, ‘खेलमा हाँसिरहन पाइयो, मन खुब रमायो । कलाकारसहित उनीहरुको खेल पनि देख्न पाइयो, क्रिकेट खेलाडीको पनि खेल हेर्न पाइयो, यस्तो अवसर सायदै पाइन्छ, आज अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जुरेको छ ।’

क्रिकेट मैदानमा दर्शक बनेर हेर्न आएका अर्का दर्शक दीपक थापा पनि खेल रोमाञ्चकारी भएको बताए । उनले भने, ‘खेल हेर्दा ज्यादै रमाइलो भयो, यो मन त चङ्गाजस्तो भएको थियो, कलाकारको खेल हेर्न पाइयो, यो नै ठूलो कुरो भयो नि ।’

कलाकार क्रिकेट खेलाडीको यस प्रतियोगितामा चारवटा समूह सहभागी भएका छन् । प्रतियोगितामा भएका दुई खेलमा पहिलो खेलमा टिम धुर्मुस ‘‘ए’ र टिम सुन्तली ‘ए’ विजयी भएका थिए । आजै फाइनल खेलको रोमाञ्चक प्रतिस्पर्धा हुने सीताराम कट्टेल धुर्मुसले जानकारी दिए । उनले भने, ‘निर्माणधीन रंगशालालाई आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।’ पहिलो खेलमा टिम धुर्मुस ‘ए’ ६ रनले विजयी भएको उनले बताए । टिम ‘ए’ ले ७० रनको टार्गेट दिँदा ‘बी’ ले ६३ रन मात्र ल्याएको थियो । त्यसैगरी दोस्रो खेलमा टिम सुन्तली ‘ए’ र ‘बी’ बीच भएको खेलमा सात विकेटले टिम सुन्तली‘ ‘ए’ विजयी भएको आयोजकले जनाएको छ ।  जसले ५७ को टारगेट दिँदा ‘बी’ ५० रन मात्र ल्याएको थियो । 

देशका राष्ट्रिय खेलाडी र कलाकारहरुको सहभागिता रहेको खेलको उद्घाटन महानगर प्रमुख रेनु दाहालबाट भएको थियो । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा भएको थियो । 

कलाकारहरु दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार र खेलाडीहरु पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेलेका छन् । खेल हेर्न दर्शक हौसिएका छन् ।

क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई  भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको थियो । भरतपुर विमानस्थलमा शुक्रबार ओर्लिएको कलाकार र खेलाडीको टोलीलाई पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस