हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

रासस

शनिबार, २४ माघ २०७७, १३ : ०३
हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

काठमाडौ । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन्  । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै छन् । 

महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी हुनुहुने बताइएको छ । 

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्र्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका छन् । एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो ।   

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र उनि अहिले महोत्सवका लागि आफ्ना बुबाकै विशेष प्रतिक्षणमा रहेका छन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनिहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् । 

खेलाडी अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्य समेत पाएका छन् । महोत्सवलाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ । 

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएका जानकारी अनुसार अविरलले हालसम्म ४७ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको छ । बक्सर अविरलले  जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका छन्  । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए । 
 

प्रतिक्रिया दिनुहोस