सन्दुक रुइतसहित ३ जना नेत्र विशेषज्ञले पाए भिजन एक्सलेन्स अवार्ड

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १५ : ११
सन्दुक रुइतसहित ३ जना नेत्र  विशेषज्ञले पाए भिजन एक्सलेन्स अवार्ड

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । 
आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपाल प्रसाद पोख्रेल छन् । नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक छन् भने प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुन् । त्यसैगरी डा. गोपाल प्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य छन् । उनीहरु आँखा स्वास्थ्य क्षेत्रका मार्गदर्शक एवम् अगुवा हुन् ।
 

प्रतिक्रिया दिनुहोस