निर्वाचन प्रक्रियाबारे मतदान अधिकृतलाई प्रशिक्षण

आइतबार, १० मंसिर २०७४, १६ : ५३
निर्वाचन प्रक्रियाबारे मतदान अधिकृतलाई प्रशिक्षण

चितवन, १० मंसिर ।  दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ ।
जिल्लाको ४०८ मतदान केन्द्र आबद्ध अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण गराइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

निर्वाचनका विषयमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले निर्वाचनका सैद्धान्तिक र व्यावहारिक पक्षबारे ढकालले प्रशिक्षण दिनुभएको थियो ।

यस्तै, शान्ति सुरक्षा तथा आवश्यक प्रशासनिक विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र चितवनका प्रहरी उपरीक्षक दीपक थापाले प्रशिक्षण दिनुभएको हो । हिजो शनिबार र आज आइतबार उनीहरुलाई प्रशिक्षण दिइएको हो ।

पूर्व प्रधानमन्त्री, मन्त्री र पूर्व मन्त्रीहरु नै उम्मेदवार बनेकाले प्रशिक्षणका क्रममा यसपटक जिल्लामा विशेष ध्यान दिनुपर्ने सुझावसहित मतदान अधिकृतहरुलाई गम्भीर भएर काममा लाग्न निर्देशन दिइएको छ ।
निर्वाचनमा मतदान अधिकृतबाट अलिकति पनि तलमाथि हुँदा समग्र केन्द्र नै प्रभावित हुने भएकाले सचेत रहन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको ढकालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि ४०८ मतदान अधिकृत र ४०८ सहायक मतदान अधिकृत गरी ८१६ जना आवश्यक पर्ने भएपनि भैपरी आउने समस्यालाई ध्यानमा राखी ८५७ जनालाई तालीम दिइएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ९५ जनाको उम्मेदवारी परेको छ ।

४,८९१ कर्मचारी र स्वयंसेवक खटाइने

चितवनमा १६१ मतदान स्थलको ४०८ मतदान केन्द्रमा १ हजार ६२७ जना स्वयंसेवक तथा ३ हजार २६४ जना कर्मचारी गरेर ४ हजार ८९१ जनशक्ति खटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कूल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ८१६ जना, सहायक कर्मचारी १ हजार ६३२ र कार्यालय सहयोगी ८१६ जना खटाइने छ ।

बाँकी एक हजार ६२७ स्वयंसेवकहरु भने मतदान अधिकृतले छनोट गर्नेछ । जिल्लामा सबै प्रकारका निर्वाचन सामग्रीहरु आइपुगेको छ ।

यसपटकको निर्वाचनमा जिल्लाका ३ लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदैछन् । स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

विशिष्ट व्यक्तिहरु निर्वाचनमा सहभागी भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुबीच प्रतिष्पर्धा हुने देखिएको छ । अरु साना दलका उम्मेदवारहरु ओझेलमा परेका छन् । अहिले उम्मेदवारहरु चुनावी प्रचार अभियान चलाउँदै घरदैलो गर्न सक्रिय छन् ।
 

 

प्रतिक्रिया दिनुहोस