अमेरिका । डोनाल्ड ट्रम्पको कार्यकाल २० जनवरी अर्थात् बुधबारबाट समाप्त हुँदैछ । अबको केही घण्टामै उनी ह्वाइट हाउस छाडेर फ्लोरिडास्थित आफ्नो आलिशान रिसोर्ट मार–ए–लेगोमा सिफ्ट हुनेछन् । ह्वाइट हाउसबाट हटेपनि अमेरिकी समाजमा डोनाल्ट ट्रम्पले त्यस्ता विवादीत निर्णय र विरासतहरु छाडेर जाँदैछन्, जो आम अमेरिकीहरुलाई मन पर्दैन । त्यसैले सायद, उनी अमेरिकी लोकतान्त्रिक इतिहासमै दुईपटकसम्म महाभियोग सामना गर्ने पहिलो राष्ट्रपति बने । ट्रम्पलाई अमेरिकाका राष्ट्रपति र ‘झुठका राजा’ भन्दा पनि फरक नपर्ला ।
अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टको एक रिपोर्टअनुसार ट्रम्पले कार्यकालको सुरुवाती ८ सय २७ दिनमा झन्डै १० हजार गलत या भ्रामक दाबी गरे । ९ जुलाई २०१९ सम्म यो आँकडा २० हजार ५५ पुगिसकेको थियो । यो संख्या अहिले अझै बढेको अनुमान लगाउन सकिन्छ । सबैभन्दा धेरै झुठ चुनावलाई लिएर फैलाइएको थियो । त्यसपछि अमेरिकी अर्थव्यवस्था र रोजगारीबारे पनि भ्रामक प्रचार गरियो । राष्ट्रपतिका रुपमा ट्रम्पले औसतमा हरेक दिन १२ वटा झुठो दाबी गरेको रिपोर्टमा उल्लेख छ ।
ट्रम्प र उनको कार्यकालसँग जोडिएका केही महत्वपूर्ण र विवादीत निर्णय यस्ता छन् ।
१) इजरायल प्रेम – कार्यकालको सुरुवाती हप्तामै ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए । भने– अब तेल अभिभ होइन, जेरुसलेममा अमेरिकी दूतावास रहन्छ । उनले ७० वर्षको अमेरिकी नीतिलाई एक हस्ताक्षरका भरमा फेरिदिए । यसको ठूलो विरोध भयो, विशेषगरी अरब क्षेत्र र युरोपमा ।
२) मुस्लिम देशमाथिको प्रतिबन्ध – हिंसाग्रस्त सिरिया, सुडान, सोमालिया, ईरान, इराक, लिबिया र यमनका शरणार्थीहरुलाई अमेरिकामा प्रवेशको प्रतिबन्ध लगाइदिए । यस निर्णयबाट मुस्लिम देशहरु आक्रोशित भए, मानवअधिकारीवादी संगठनहरुले यसलाई ‘क्रुर’ निर्णय भने ।
३) दूतावासमा परिवर्तन – यस्तो पनि पहिलोपटक नै भयो । ट्रम्पले एकैपटक झन्डै ५० देशबाट अमेरिकी राजदूतहरुलाई फिर्ता बोलाए, अनि उनीहरुको साटो नयाँ कुटनीतिज्ञहरुलाई पठाए । एउटा समयत यस्तो पनि आयो, जब क्यानेडा, चीन र साउदी अरबजस्ता देशमा पनि अमेरिकी राजदूतको पद केही दिन रिक्त रह्यो ।
४) मेक्सिकोको सीमामा पर्खाल – घुसपैठ र ड्रग माफियालाई रोक्नका लागि ३२ सय किलोमिटर लामो पर्खाल बनाउने फैसला ट्रम्पले लिए । यसमध्ये ४ सय ५३ किलोमिटर लामो पर्खाल खडा भइसकेको छ । पर्खाल बनाउने पैसा पनि मेक्सिकोले नै दिने ट्रम्पको दाबी थियो । तर अहिलेसम्म १५ करोड डलर अमेरिकाले नै खर्च गरिसकेको छ । जो बाइडेनले यस कामलाई रोक्ने अपेक्षा गरिएको छ ।
५) जलवायु परिवर्तनमा अलग अडान – २०१६ मा विश्वका शक्तिशाली देशहरुबीच जलवायु परिवर्तन रोक्नका लागि पहल गर्नेगरी फ्रान्सको पेरिसमा सम्झौता भएको थियो । तर, ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका यो सम्झौताबाट बाहिरियो । बाराक ओबामाले ट्रम्पको यो कदमलाई ‘आत्मघाती’ भने । बाइडेनले फेरि यस सम्झौता फर्कने वाचा गरिसकेका छन् ।
६) टीटीपी सम्झौताबाट पनि टाढा – चीनको दबदबालाई कम गर्ने वाचा र दाबी ट्रम्पले गरिरहे, यद्यपी उनले नै ट्रान्स प्यासिफिक पार्टनरसिपबाट अमेरिकालाई बाहिर निकाले । र, यसको साटो अन्य कुनै सम्झौता पनि गरेनन् । यसको फाइदा उठाउँदै चीनले अहिले १२ एशियाली देशससँग स्वतन्त्र व्यापार गरिरहेको छ ।
७) ईरानसँग विवाद – पूर्वराष्ट्रपति ओबामाको कार्यकालमा ईरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासहित विश्वका अन्य शक्तिशाली देशको संलग्नतामा ईरानसँग एउटा सम्झौता भएको थियो । ट्रम्पले वार्ता र छलफलमार्फत यस सम्झौतालाई लागु गर्नुको साटो यस सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । ईजरायलसँग मिलेर ईरानका ठूला नेताहरुलाई निशाना बनाए । क्वाद फौजका कमाण्डर जनरल कासिम सुलेमानीको त हत्या नै भयो । नतिजा, ट्रम्पका यस्ता हर्कतका कारण ईरानको झुकाव चीनतर्फ बढ्यो ।
८) सेना फिर्ता – सिरिया र अफगानिस्तानमा अवस्था खासै नसुध्रिएपनि सत्तामा रहदाँको फाइदा उठाएर ट्रम्पले यहाँबाट अमेरिकी सैनिकहरुलाई घर फिर्ता बोलाए । यो कदमका कारण यी दुबै देशमा अमेरिकी प्रभूत्व गुम्यो । सिरियामा रुस र अफगानिस्तानमा चीनको सहयोगमा पाकिस्तानले आफ्नो प्रभाव बिस्तार गरिसकेका छन् ।
९) सर्वोच्च अदालतमा मन परेका न्यायधिस – न्यायाधिस गिन्सवर्गको मृत्युपछि ट्रम्पले युवा न्यायाधिस बैरेटलाई नियुक्ती दिए । यसका लागि शक्तीको गलत प्रयोग गरे । राष्ट्रपतिय निर्वाचनको विवाद सर्वोच्च अदालतसम्म पुग्यो भने आफ्नो पक्षमा फैसला आउँछ भन्ने ट्रम्पलाई लागेको थियो । तर सर्वोच्चमा विवाद पुग्नुअघि नै ट्रम्प पराजित भएको घोषणा भयो ।
१०) डब्ल्युएचओलाई सहायता बन्द – विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) मा अमेरिकाले ४० प्रतिशत आर्थिक सहयोग गर्ने गरेको थियो । ट्रम्पले डब्ल्युएचओलाई चीनको कठपुतली भन्दै आर्थिक सहयोग बन्द गरिदिए । महामारीको दौरान उनले चालेको यस कदमको विश्वव्यापी विरोध भयो ।
ट्वीटरको गलत प्रयोग ट्रम्पले आफ्नो झुठ फैलाउन ट्वीटरको सक्दो दुरुपयोग गरे । उनी राष्ट्रपतिको आधिकारीक ट्वीटर एकाउन्टभन्दा पनि व्यक्तिगत एकाउन्ट धेरै चलाउँथे । तर, नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनयता ट्वीटरको अत्याधिक दुरुपयोग गरेपछि अन्तत बाध्य भएर ट्वीटरले यसै महिना ट्रम्पको व्यक्तिगत एकाउन्टलाई स्थायी रुपमै प्रतिबन्ध लगाइदियो । जसकारण, अहिले उनी आफ्नो व्यक्तिगत एकाउन्टबाट ट्वीट गर्न असमर्थ छन् । ट्वीटरबाइन्डर डटकम र स्ट्याटिस्टीका डटकमको रिपोर्टअनुसार ट्रम्पले राष्ट्रपतिको आधिकारीक ट्वीटर एकाउन्टबाट कुल ३४ हजार ट्वीटमात्रै गरे ।
प्रतिबन्धित हुनअघि ट्रम्पको व्यक्तिगत एकाउन्ट भने धेरै प्रयोगमा आयो । यसका केही आँकडा यस्ता छन् –
५९,५५३– ट्वीट वा रिट्वीट
४६, ९१९– ओरिजिनल ट्वीटस्
१२,६३४– रिट्वीट
,८९,३६,,४१– फलोअर्स
५१– फलोइङ
४ मेइ २००९ – पहिलो व्यक्तिगत ट्वीट ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ माघ २०७७, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिभीले च्यानलले डोनाल्ड ट्रम्पलाई १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने
शपथ लिनेबित्तिकै ट्रम्पले ६४५ जनालाई सजाय माफी दिने
जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा
चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी
पुटिनसँग वाता गर्न तयार छु : ट्रम्प
ट्रम्पको आगमनले गाजामा जारी द्वन्द्व अन्त्य हुने प्यालेस्टाइन र हमासकाे आशा