निर्वाचन आयोगले गर्यो राजनीतिक दलहरुसँग छलफल

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, १६ : ०२
निर्वाचन आयोगले गर्यो राजनीतिक दलहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको बैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानिय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो ।

छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराईदिन पनि आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफुहरु नलाग्ने बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफुहरुले निर्वाचन आयोगमा आग्रह पनि गरेको उल्लेख गर्दै उनले वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने बताए ।

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफुहरु रहेको बताए । निर्वाचन आयोगले कुनैपनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको बताए । 

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस