चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।
पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए । उनले भने, “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण ग¥र्यौं ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले जाकारी दिए ।
वनका अनुसार राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ । यसले सडक दुर्घटनामा कमी ल्याउने उनले बताए ।
नगरपालिकाका इञ्जिनीयर पङ्कज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उनका अनुसार रु दुई करोड ३९ लाख ९२ हजार २७० को लागतमा पुल निर्माण गरिएको हो ।
पुल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ । विसं २०७६ फागुन २ गते असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि समय थप गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ माघ २०७७, १३ : ४४
लेखकबाट थप