नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप काठमाडौंमा हुने

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १६ : ४५
नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप काठमाडौंमा हुने

फाइल तस्विर

काठमाडौं । नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट १ हजार ३ सयभन्दा धेरै खेलाडी सहभागी हुने  प्रतियोगिताका संयोजक एवं तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले जानकारी दिए ।

हाई स्पिड किक च्याम्पियनसिप प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो । कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता भर्चुअल रुपमा गर्न लागिएको हो ।

प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५/५, पिवीमा ५/५, सब जुनियरमा ५/५, क्याडेटमा ५/५, सिनियरमा १/१, यु–४० मा १/१, यु–५० मा १/१ र ६० वर्षमाथिमा १/१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ । तीन देशका विभिन्न हिंसा पीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस