प्रचण्ड–माधव पक्षले पठायो संविधानको पुस्तक

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १४ : ४६
प्रचण्ड–माधव पक्षले पठायो संविधानको पुस्तक

काठमाडौं । संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । 

नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो । काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुस सहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र पठाएको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन् ।

संविधानको पुस्तक पठाउन नेताहरु प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानर सहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।  


 

प्रतिक्रिया दिनुहोस