धनगढीका मुख्यमन्त्री भट्टले नगर्ने भए प्रधानमन्त्रीको स्वागत

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १२ : ५१
धनगढीका मुख्यमन्त्री भट्टले नगर्ने भए प्रधानमन्त्रीको स्वागत

फाइल तस्विर

काठमाडौँ । शुक्रबार गुटको सभालाई सम्बोधन गर्न धनगढी जान लागेका प्रधानमन्त्री केपी शर्मा वलीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत नगर्ने भएका छन् । सभालाई सम्बोधन गर्न धनगढी आइरहेका प्रधानमन्त्रीको स्वागतमा आफू सहित कोही पनि मन्त्री नजाने मुख्यमन्त्री  भट्टले बताए।

उनले भने, ‘हाम्रो आन्तरिक बैठकले प्रधानमन्त्रीको स्वागतमा नजाने निर्णय गरेको छ।’ नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी आइरहेका छन्। उनी बिहान ९ बजे नै धनगढी पुग्ने भनिए पनि खराब मौसमका कारण विमान उड्न ढिलाइ भएको छ।

ओली समूहका कार्यकर्ताहरु प्रधानमन्त्रीको स्वागतका लागि धनगढी विमानस्थल पुगिसकेका छन्। धनगढीको खुलामञ्चमा हुने जनसभामा ५० हजार जनता उतार्ने ओली समूहको दाबी छ। पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ। नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन्।

तर ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाएका छन्।

प्रतिक्रिया दिनुहोस