आज राष्ट्रिय पोशाक दिवस

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १२ : ५१
आज राष्ट्रिय पोशाक दिवस

काठमाडौं । आज (शुक्रबार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाईएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् । बि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको बताए । सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोशाक घोषणा गर्नुपर्ने पनि उनले बताए ।

यस दिन देश विदेशमा छरिएर रहेका नेपालीहरुले स्वस्फुर्त रुपमा दौरासुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रमहरुमा भागलिने तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस