प्रचण्ड र बामदेम गौतमबीच भेटवार्ता,  दाहाललाई भेट्न खुमलटार पुगे गौतम

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, ११ : २५
प्रचण्ड र बामदेम गौतमबीच भेटवार्ता,  दाहाललाई भेट्न खुमलटार पुगे गौतम

file-photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ।
गौतम प्रचण्डलाई भेट्न साढे नौ बजे खुमलटार पुगेका हुन् र अहिले छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेको बुझिएको छ। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार दुवै नेताबीच बिहान आधा घण्टा छलफल भएको थियो। संसद विघटनपछि प्रचण्ड र गौतमबीचको यो दोस्रो भेट हो। आज शुक्रबारदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदैछ । गौतम राष्ट्रिय सभाका सांसद हुन्। 

नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन्। तर, वामदेव तटस्थ छन्।  प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको स्वास्थ्य अवस्था बुझ्न वामदेव खुमलटार पुगेको बुझिएको छ। तर पार्टी विभाजन हुनै लाग्दा दुईको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ। यस अघि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।  

आफू प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझन् गएको र त्यही सन्दर्भमा पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल भएको सिंहले जनाएका छन्। 

पार्टी विभाजनमा गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कुनै पनि पक्षमा नलागेकोमा बादल प्रधानमन्त्री केपी ओली  पक्षमा लागिसकेका छन् भने गौतमले अहिलेसम्म आफ्नो कित्ता स्पष्ट पारेका छैनन्। उनले आफू पार्टी फुटको साक्षी नबन्ने उल्लेख गर्दै अन्तिमसम्म आफू एकताको पक्षमा रहने बताउँदै आएका छन्।