मुग्लिन (चितवन) । खुसीको प्रतीक उज्यालोले सफलता पनि ल्याउँदोरहेछ । यसले लैङ्गिक समानताको मुद्दालाई समेत अगाडि बढाउँदोरहेछ । घरभित्रै पिल्सिएका महिलालाई खुला आकासको स्वतन्त्रता दिँदोरहेछ उज्यालोले । ऊर्जाको आडमा सफलताको शिखर चढिरहेका महिलाहरुको प्रतिनिधि पात्र हुन् मधु श्रेष्ठ र माया सिलवाल ।
मुग्लिनका होटल व्यवसायी मधु र मायालाई व्यावसायिक सफलताको स्वाद दिएको हो इच्छाकामना गाउँपालिकामा २२ महिनादेखि सञ्चालित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ऊर्जा क्षेत्रको क्षमता अभिवृद्धि कार्यक्रमले । यस कार्यक्रमले अपेक्षा गरेका तीन वटा मुख्य नतिजामध्ये नतिजा दुई ‘महिला, गरिब एवम् पिछडिएका वर्गहरुले ऊर्जा प्रविधि तथा सेवाको उत्पादनमूलक प्रयोग’ रहेको छ ।
कार्यक्रमको रणनीतिक साझेदार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, तीन वटा साझेदार संस्थामध्ये एक ग्रामीण प्रविधि केन्द्र र मुग्लिनमा रहेको मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच २०७५ फागुनमा समझदारीपत्रका हस्ताक्षर भएपछि ‘नतिजा दुई’ परियोजना लागु भएको हो । यही परियोजना अन्तर्गत आयोजित सीपमूलक तालिममा सहभागी हुने अवसर पाएपछि मधु र मायाले व्यावसायिक सफलताको स्वाद चाख्न पाएका हुन् ।
मधुको मधुर मुस्कान
मुग्लिन बजारमा रहेको नेवा गेष्ट हाउसकी सञ्चालक हुन् मधु श्रेष्ठ । २०३७ साल पुस ३ गते बन्दीपुरमा जन्मिएकी मधुको २०५६ सालमा मुग्लिनका राजु श्रेष्ठसँग बिहे भयो । बिहेपछि उनी जुन घरमा भित्रिएकी थिइन्, त्यही घरमा छ यो गेष्ट हाउस । पहिले यो घरमा खाना खुवाउने साङ्ग्रिला होटल थियो । २०६६ सालबाट गेष्ट हाउस सञ्चालनमा आएको हो ।
मधुको गेष्ट हाउसमा आवास सुविधामात्र होइन, खाना र खाजा पनि पाइन्छ । मर्स्याङ्दी सहकारीमार्फत् लागु भएको परियोजना अन्तर्गत मधुले पनि सजावट, सरसफाई र खाजाका परिकार बनाउने तालिम लिइन् । व्यवसाय व्यवस्थापन तालिमपछि अहिले उनको गेष्ट हाउस चिटिक्क सिँगारिएको छ । पाहुना कोठाको बाथरुम परिवर्तन गरिएको छ । तीनतले घरको तल्लो तलामा कमर्सियल बैंकको शाखा छ । माथिल्ला दुई तलामा पाँच वटा कोठामा दस बेड छन् पाहुनाका लागि । चार वटा कोठा एट्याच बाथरुम र एउटा नन्एट्याच रहेको मधुले बताइन् ।
ग्राहकको सेवामा सुधार गर्नुपर्ने ज्ञान तालिमबाट सिकेपछि मधुले सहकारीबाट ऋण लिएर पाँच लाख रुपैयाँ खर्च गरी बाथरुमलाई नयाँ रुप दिइन् । टायल लगाइन्, कमोट राखिन् । खाना खाने र सुत्ने कोठाहरु पनि सफा र चिटिक्क बनाइन् । ‘पहिले आम्दानी र खर्चको हिसाबकिताब नै राख्थेनौँ’ मधुले भनिन्, ‘तालिमपछि हिसाब राख्न थालेकी छु, बचत पनि गर्छु ।’ यसबाहेक खाना र खाजाका परिकार थप्नुका साथै बाँकी रहेको खानेकुरा फ्रिजमा कसरी राख्ने भन्ने पनि सिकेको उनले बताइन् ।
गेष्ट हाउसमा आउने पाहुनालाई मुस्कुराउँदै स्वागत गर्ने मधुले यो कला तालिमबाटै सिकेकी हुन् । पहिले सरसफाईमा त्यति धेरै ध्यान दिन नसकेको बताउँदै उनले भनिन्, ‘अहिले सरसफाई र सजावटमा ध्यान दिएकी छु । अर्डर अनुसार खाजाको परिकार पनि उपलब्ध गराइन्छ ।’ एक जना कर्मचारी, श्रीमान् र आफू मिलेर गेष्ट हाउस सञ्चालन गरिरहेको मधुले बताइन् । उनका २१ वर्षीय छोराले एसइई परीक्षापछि स्थानीय एक सहकारीमा जागिर गरिरहेका छन् ।
मायाको परिवारमा माया नै माया
इच्छाकामना गाउँपालिका ५, मुग्लिन बजारको चोकमै छ मायाको सन्दीप खाजा घर एण्ड गेष्ट हाउस । विश्वव्यापी महामारी कोभिड १९ ले निम्त्याएको बन्दाबन्दी (लकडाउन) कै बिचमा गेष्ट हाउस निर्माण गरी बन्दाबन्दी खुलेपछि सञ्चालनमा ल्याइन् मायाले । उनको पसलमा आवाससँगै खाना र खाजा पनि उपलब्ध छन् । उनी ग्रामीण विद्युत उपभोक्ता र मस्र्याङ्दी सहकारीको शेयर सदस्य हुन् ।
‘मर्स्याङ्दी सहकारीमा महिलाको लागि कार्यक्रम आएपछि व्यवसाय व्यवस्थापन तालिम लिएँ’ व्यवसाय स्थापनाको कथा सुनाउँदै उनले भनिन्, ‘अहिले गेष्ट हाउस बनाएको जग्गा हाम्रो आफ्नै हो । पहिले टिनको छाप्रो बनाएर भाडामा दिएका थियौँ । तालिम लिएपछि आफैले व्यवसाय गर्नु पर्छ भन्ने सोच आयो । लालपूर्जा धितो राखेर सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएँ । पुरानो छाप्रो भत्काएर पक्की घर बनाएपछि गेष्ट हाउस सञ्चालनमा ल्याएँ ।’
चारतले घरको भुइँतलामा खाजा घर छ, बाँकी तलामा गेष्ट रुम । जम्मा ११ बेडका सात वटा कोठामध्ये पाँच वटा एट्याच बाथरुमसहितका छन् । खाजा घरमा फ्रिज, टेलिभिजन, पंखा र बत्ती छन् । गेष्ट रुममा पनि बत्ती र पंखा राखिएको छ । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत मुग्लिनमा विद्युत वितरण भएकोले नै विद्युतीय सेवा उपभोग गर्न पाइएको माया बताउँछिन् ।
‘घर बनाएपछि बिजुली जडानको काम सकियो । पहिले नै विद्युत उपभोक्ता बनेको हुँदा बिजुली जोड्न समस्या परेन’ माया भन्छिन्, ‘ सुरुमा त भाडामै दिने सोच थियो । सहकारीका सरहरुले हौसला दिएपछि तालिममा सहभागी भएँ । तालिम दिने सरहरुले पनि व्यवसाय गर्न सल्लाह दिएपछि आँट गरेँ । सहकारीको ऋण तिर्न दैनिक दुई हजार र अन्य खर्चका लागि पाँच सय रुपैयाँ छुट्याउने गरेकी छु । आजको दिनसम्म राम्रै भएको छ ।’
मायाले दुई जना कर्मचारी राखेर पारिवारिकरुपमा व्यवसाय सञ्चालन गरेकी छिन् । ७३ वर्षकी सासुले नाति हेरिदिन्छिन् । उनी आफू काउन्टरमा बस्छिन् । बुहारीले किचेन सम्हालेकी छिन् । तीन पुस्ताका महिलाबीचको यो एकता दुर्लभ नै मान्नु पर्छ । मायाका देवर बहिरा भएर पनि काममा सघाउँछन् । श्रीमान् भने १५ वर्षदेखि रोगले थलिएर ओछ्यान परेका छन् । माया भन्छिन्, ‘श्रीमान्लाई औषधि खुवाइरहनु परेको छ । औषधि खर्च पनि गेष्ट हाउसकै आम्दानीले धानेकी छु ।’
२०३० साल साउन २८ गते धादिङको बाहुनटारमा जन्मिएकी माया बुबा डिल्लीप्रसाद कँडेल र आमा गङ्गाकी माहिली सन्तान हुन् । १० कक्षासम्म अध्ययन गरेकी सिलवालका एक दिदी, चार बहिनी र एक भाइ छन् । २०४८ साल फागुनमा कुरिनटारका चुडामणिसँग विवाह भएपछि २०४९ सालदेखि उनको बसाई मुग्लिनमै छ । माया बिहेपछि मुग्लिन आउँदा विद्युत थिएन । सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत २०६१ साल वैशाखबाट मुग्लिनमा बिजुली बत्ती बल्न थालेको हो ।
गाउँपालिकाकै गौरव
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ गाउँपालिकाको अनुमति र समन्वयमा महिलालक्षित तालिम कार्यक्रमहरु परियोजनामार्फत् भइरहेको बताउँछिन् । पुस ५ देखि ८ गतेसम्म इच्छाकामना गाउँपालिका ६, याक्राङमा होमस्टे सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको र यसपछि याक्राङका १३ जना महिलाले होमस्टे सुरु गर्न लागेको अध्यक्ष गुरुङले जानकारी दिइन् ।
‘जलविरे झरनानजिक याक्राङमा होमस्टे संचालनमा आउँदा इच्छाकामनाको पहिचान थप्ने काम भएको छ’ उनले भनिन्, ‘होमस्टे संचालनसँगै गाउँपालिकाका अन्य वडामा महिला दिदीबहिनीहरुले व्यवसाय सञ्चालन र बिस्तार गरी आयआर्जनमा जोडिनु गाउँपालिकाकै गौरव बढाउने काम हो ।’
गाउँमा परियोजना लागु भएपछि महिलाले खाना र नास्ताको परिकार बनाउने, पाहुनाको स्वागत, सत्कार गर्ने, तरकारीखेती, कुखुरापालन, पशुपालन लगायतका काममा लागेर आयआर्जनमा सहभागी भइरहेको उनले जानकारी दिइन् । यसले रोजगारीसँगै आर्थिक समृद्धिको यात्रा सुरु गरेको उनको ठहर छ ।
मर्स्याङ्दीको साथ महिलालाई
इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ऊर्जा क्षेत्रको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत ‘महिला, गरिब एवम् पिछडिएका वर्गहरुले ऊर्जा प्रविधि तथा सेवाको उत्पादनमूलक प्रयोग’ परियोजना (नतिजा दुई) को कार्यान्वयन मर्स्याङ्दी बहुउद्देश्यीय सहकारीले गरिरहेको छ । परियोजना अन्तर्गत सहकारीको कार्यक्षेत्र इच्छाकामना गाउँपालिकाभित्रका ५० जना महिलाले विभिन्न आयमुलक तालिम पाएको सहकारीका अध्यक्ष तेजबहादुर शेरचन बताउँछन् ।
‘हामीले सहकारीबाट शेयर सदस्यहरुलाई बिनाधितो साढे दुई लाखसम्म र धितो लिई उद्योग, व्यवसाय सञ्चालनका लागि ३० लाख रुपैयाँसम्म ऋण दिने गरेका छौँ’ उनले भने, ‘२० वर्षअघि २५ जनाले स्थापना गरेको यस सहकारीमा अहिले एक हजार ६ सय ७६ जना सदस्य छन् । सदस्यमध्ये महिला सात सय ७७ जना छन् । संस्थाबाट २० करोड रुपैयाँ ऋण लगानी भएको छ ।’
परियोजना अन्तर्गत विभिन्न सीपमूलक तालिम लिएका महिलाहरुमा ‘आयआर्जनका लागि पेशा, व्यवसाय र उद्योग गर्नुपर्छ’ भन्ने चेतना पुगेको अध्यक्ष शेरचनले बताए । उनले भने, ‘पहिले यात्रुवाहक गाडीका लागि खाना खाने थलोका रुपमा चिनिएको मुग्लिनमा महिलाहरुले खाजाका परिकार बनाउने तालिम लिएपछि अहिले साना निजी सवारीमा आउनेहरुलाई खाजा खुवाउने ठाउँको रुपमा विकास हुँदैछ ।’
परियोजना परिचय
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ऊर्जा क्षेत्रको क्षमता अभिवृद्धि कार्यक्रम वागमती प्रदेशका आठ जिल्लामा २०७५ पुस १७ देखि लागु भएको छ । कोभिड १९ का कारण म्याद थप भई २०७७ माघ २ गतेसम्म रहने परियोजना चितवन, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र धादिङ जिल्लामा सञ्चालन भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) र स्विडिस अन्तर्राष्ट्रिय विकास सहकार्य अभिकर्ता (सिडा) को सहयोगमा परियोजना लागु भएको हो ।
परियोजनाको प्रमुख साझेदारमा लैङ्गिक तथा दिगो ऊर्जाका लागि अन्तर्राष्ट्रिय सञ्जाल (इनर्जिया)/हिभोस फाउण्डेसन रहेका छन् । अन्य साझेदारमा ग्रामीण प्रविधि केन्द्र नेपाल, प्राक्टिकल एक्सन कन्सल्टिङ प्रा.लि. र रिकार्डो इनर्जी एण्ड इन्भाइरोमेन्ट रहेका छन् । परियोजनाको रणनीतिक साझेदार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ हो ।
परियोजनाको साझेदार संस्था ग्रामीण प्रविधि केन्द्र नेपालकी ज्ञानु विष्ट यस परियोजनाको सञ्चार अधिकृत हुन् । ऊर्जालाई उत्पादनसँग जोडेर महिला सशक्तिकरणलाई अगाडि बढाउने काम परियोजना अन्तर्गत भइरहेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘नेपाल विद्युत प्राधिकरण तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका कार्यक्रमहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मूल प्रवाहीकरणका लागि क्षमता अभिवृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको छ । यसका साथै महिला, गरिब एवं पिछडिएका वर्गहरुले स्वच्छ ऊर्जा प्रविधि तथा सेवाहरुमा पहुँचका साथै उत्पादनमूलक ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्नु पनि यस परियोजनाको उद्देश्य हो ।’
मुग्लिनमा महत्वपूर्ण उपलब्धि
चितवनको इच्छाकामना गाउँपालिकामा लागु गरिएको परियोजनाका उद्यम विकास संयोजक दीपक बोहरा इच्छाकामना गाउँपालिकाको वडा नम्बर तीन, चार, पाँच र ६ मा परियोजना अन्तर्गत तालिम र परामर्श सेवा दिइएको बताउँछन् ।
परियोजना अन्तर्गत व्यवसाय व्यवस्थापन, महिला सशक्तिकरण, तरकारीखेती, कुखुरापालन, बाख्रापालन, होटल व्यवस्थापन, होमस्टे सञ्चालन तालिम भइसकेका छन् । सिलाईकटाई र चिप्स निर्माण तालिम दिन बाँकी रहेको बोहराले जानकारी दिए ।
तालिम लिएपछि व्यवसाय बिस्तार र नयाँ व्यवसाय वा उद्योग सुरु गर्न चाहने महिलालाई आवश्यक ऋणको लागि सहजीकरण गर्ने काम परियोजना अन्तर्गत भएको बोहरा बताउँछन् । तालिमले महिला वर्गलाई निकै फाइदा पुगेको उनको ठम्याई छ ।
परियोजनाको स्थानीय साझेदार मर्स्याङ्दी बहुउद्देश्यीय सहकारीका प्रबन्धक कुमार श्रेष्ठ तालिम लिएका महिलाहरुले नयाँ व्यवसाय सुरु, व्यवसाय बिस्तार, तरकारीखेती, पशुपालन लगायतका प्रगति गरेको बताउँछन् । सहकारीले ग्रामीण विद्युतीय कार्यक्रम हेरिरहेको र यस कार्यक्रमका सदस्य महिलाले परियोजनामा तालिमको अवसर पाएको उनले प्रष्ट पारे । उनका अनुसार मर्स्याङ्दी सहकारीको कार्यक्षेत्रमा दुई हजार सात सय घरधुरी ग्रामीण विद्युत उपभोक्ता छन् । एक हजार दुई सय घरधुरीमा विद्युत विस्तार हुन लागेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
शनिबार, ११ पुस २०७७, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो वर्ष एक हजार मेगावाट विद्युत् थपिने
सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि, १३ अर्बको बिजुली निर्यात