युएईमा हुने टी टेन लिगमा अनुबन्धित भए तीन नेपाली क्रिकेटर

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, ०८ : ३१
युएईमा हुने टी टेन लिगमा अनुबन्धित भए तीन नेपाली क्रिकेटर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् । दस ओभरको फ्रेन्चाइज लिगमा सोमपाल कामी, करण केसी र कुशल मल्लले सहभागिता जनाउने भएका छन् । उनीहरूले खेल्न लागेको यो पहिलो पल्ट हो ।

बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो । त्यस अनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् । सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । करण र कुशलका लागि यो नयाँ अनुभव हुनेछ ।

टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि यस टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् । पारस आफै पनि यसपल्ट आबुधाबी टिमको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् ।

प्रतिक्रिया दिनुहोस