समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेठ

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, १६ : ०२
समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेठ

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी  छन् । 

समितिले दिएको निर्देशन विपरित सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी  हुन् ।

शुक्रबार पत्रकारसंग कुराकानी गर्दै सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरु पालना गर्नुपर्ने बताएका हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने बताइन्  ।

पूर्व सचिव मुकुन्द शर्माले भने कुनैपनि समितिले दिएका निर्देशनहरु सरकारले पालाना गरेको नगरेको भन्ने सम्बनधमा समिति आफैले कार्यप्रगति मूल्याङ्कन गरी संसद समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताए । तर सरकारले कुनै निर्देशनहरु कार्यान्वयन नगरेमा समितिका सभापतिहरु विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरुलाई सरकारले बेवास्ता गरिरहेको बताए । यस्तै कुनैपनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताए ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । समितिको बैठकमा अधिकांश सांसदहरुले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वन गर्न समितिले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस