महायज्ञबाट रु ३३ लाख संकलन

बुधबार, ३० फागुन २०७४, १४ : १७
महायज्ञबाट रु ३३ लाख संकलन

दाङ । यहाँस्थित केशवराज झुपाकुमारी वृद्धाश्रमको स्तरवृद्धिका लागि सञ्चालन गरिएको महायज्ञबाट रु ३३ लाख १५ हजार रकम सकंलन भएको छ ।

महायज्ञमा विमल रिजाल, चिरञ्जीवी रिजाल र तेजकुमारी बुढाथोकीले रु १० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । महायज्ञमा सबैभन्दा बढी रामबहादुर केसीले रु एक लाख पाँच हजार नगद दान गर्नुभयो भने व्यवसायी उत्तमकुमार क्षेष्ठले वृद्धा आश्रममा गणेशको मन्दिर बनाउने घोषणा गर्नुभएको महायज्ञ मूलआयोजक समितिका संयोजक खुमानन्द अधिकारीले जानकारी दिनुभयो ।

महायज्ञबाट रु ३० लाख रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएको थियो ।

स्थानीय नारायणप्रसाद गौतमले पिता केशवराज र माता झुपाकुमारीको स्मृतिमा वृद्ध सेवासमिति तुलसीपुरलाई उपलब्ध गराउनुभएको दुई बिगाह जग्गामा सो वृद्धआश्रम सञ्चालनमा आएको छ ।

उक्त वृद्धाआश्रमको पूर्वाधार र स्तरोन्नतिमा सहयोग जुटाउन यही फागुन २४ गतेदेखि तुलसीपुर उपमहानगरपालिका–१२ स्थित वृद्धाआश्रम परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । आज समापन गरिने उक्त महायज्ञमा प्रमुख कथावाचकमा पण्डित रवीन्द्रकृष्ण अधिकारी रहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस