चितवनमा फेरी फेला पर्यो मृत गैँडा

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, ०९ : २५
चितवनमा फेरी फेला पर्यो मृत गैँडा

फाइल तस्विर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो । सो गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ । उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले बताए । उक्त गैँडाको खाग खुर सुरक्षित रहेको छ ।

यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् । निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ ।

यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलेसमेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।