एम्बुलेन्स ट्रकमा ठोक्किँदा उपचार गराउन जाँदै गरेका बिरामीको मृत्यु,  तीनजना घाइते

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १० : ०३
एम्बुलेन्स ट्रकमा ठोक्किँदा उपचार गराउन जाँदै गरेका बिरामीको मृत्यु,  तीनजना घाइते

विराटनगर । सप्तरीबाट बिरामी लिएर आएको एम्बुलेन्स  सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकास्थित कोशी राजमार्गमा सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स राति आज सोमबार बिहान सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो ।

एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सप्तरीबाट विरामी लिएर आएको स १ च १९२२ नम्बर एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय ट्रकमा ठोक्किन पुगेको थियो । 

घटनामा बिरामी लिएर आएका आफन्त रामसुन्दर मण्डल, भोलीदेवी मण्डल र जितेन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक र एम्बुलेन्सका चालक दुवै बेपत्ता भएका छन् ।