छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ पुस २०८१, १३ : १९
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु  भएको छ। दाङ, कास्की, मोरङ, महोत्तरी, इलाम र मकवानपुरमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका-२ कटेस नालामा बा ४ ख २२६१ नम्बरको ट्रकले रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै, कास्कीको पोखरा महानगरपालिका-२६ सुन्दरीबजारस्थित सडक छेउमा पार्किङ गरी राखेको लु २ ख ४५२७ नम्बरको टिपरमा ग ११ प ६०५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृ्त्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बरपौवा बस्ने २८ वर्षीय अशोक लामिछाने रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथानस्थित सडकमा मे ४ प १८२३ नम्बरको मोटरसाइकल ना ३ ख ९९०४ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका-९ बालुबारीका २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङकै बूढीगंगा गाउँपालिका-३ कमला स्टिल फ्याक्ट्री अगाडि ना ६४ प ७२० नम्बरको मोटरसाइकले को ५ प ७०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा को ५ प ७०६८ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-६ बस्ने ४५ वर्षीय नगेन्द्र गच्छदारको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना ६४ प ७२० नम्बरको मोटरसाइकल चालकको फरवार्ड सामुदायिक अस्पताल दुहबीमा उपचार भइरहेको छ । यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका-१ रातु पुलमा बा प्र ०३-००१ ख २७२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री करिब ४५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलामको माङसेबुङ गाउँपालिका-३ सल्लेनीस्थित भित्री सडकमा ना ३ ख ६०३७ नम्बरको ट्रकको पछाडिको दाहिने साइडको चक्काको हेङ्गर बल्टु भाँच्चिई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिएर उक्त ट्रकको बडिले च्यापिएर ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ भारापाका ३८ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ रजतजयन्ती चोकमा ना ६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेका अन्दाजी ३५ वर्षीय कृष्ण न्यौपाने नाम बताउने पुरूषको मृत्यु भएको छ ।

सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै एलाइभ अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस