आईपुगे चीनका रक्षामन्त्री फेङहे काठमाडौं

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, ११ : २३
आईपुगे चीनका रक्षामन्त्री फेङहे काठमाडौं

काठमाडौँ । चीनका रक्षामन्त्री वेई फेङहे भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि मात्र त्रिभुवन विमानस्थल झरेका हुन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् ।

वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।  त्यसपछि करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् जहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्नेछ । त्यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उनी एक दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस