ओलीले प्रचण्डको प्रस्तावका यी विषयमा दिन सकेनन् जवाफ....

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, १० : १४
ओलीले प्रचण्डको प्रस्तावका यी विषयमा दिन सकेनन् जवाफ....

काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली उजागर गर्दै अध्यक्ष प्रचण्डले पेश गरेको कयौं प्रश्नमा ओलीले जवाफ दिन सकेका छैनन् । पार्टी एकता यता सरकार र पार्टी सञ्चालनमा देखा परेका ओलीको प्रवृत्तिका विषयमा प्रचण्डले आफ्नो प्रस्ताव पार्टी सचिवालय बैठकमा पेश गरेका थिए । तर ओलीले पार्टी एकतापछिको अवस्थाका बारेमा प्रचण्डको आलोचना गर्न नसकेपछि उनले विगतमा अलग पार्टीमा रहदा प्रतिस्पर्धी पार्टीमा लगाईने सार्वजनिक आलोचनालाई नै प्रस्तावमा समेटेर ल्याएका छन् ।

अलग पार्टी हुँदा दुई पार्टीका बीचमा आरोप प्रत्यारोप हुनु स्वभाविक हो । त्यसबेला दुई पार्टी र दुई पार्टीका नेतामा गरिने आलोचना कतिपय तथ्यमा हुन्छन, कति तथ्यहिन पनि हुन्छन । तर आफ्नो पक्षमा जनमत पार्न लगाइने आरोप मात्र हुन्छन, त्यस्ता धेरै । ओलीले एकतापछि एकै पार्टीमा रहदाका प्रचण्डको आलोचना गर्न नसकी धेरैजसो अलग पार्टीमा रहदाका विषयलाई समेटेर आलोचना गर्ने विषयवस्तुको खोजी गरी सहारा लिएका छन् ।

ओली र प्रचण्ड अहिले दुवै विगत २९ महिना यता एकै पार्टीमा छन । प्रचण्डले त्यही २९ महिनायता ओलीमा देखा परेको प्रवृतिलाई उजागर गरेर आफ्नो प्रस्ताव छलफलका लागि पार्टीमा पेश गरेका हुन् । तर ओलीले प्रचण्डले उठाएका कतिपय प्रश्नको जवाफ वर्तमानमा नेकपाभित्रै रहदाको अवस्थामा रहेर दिन नसकी अलग पार्टी हुदाँको अवस्थालाई सहारा लिएर दिन खोजेका छन् ।
खोई प्रचण्डका यी प्रश्नको जवाफ ?

प्रचण्डले आफनो प्रस्तावमा लेखेका थिए – सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणा पत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरुको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दा हेर्दै गुम्न सक्ने खतरा र चुनौति हाम्रा अगाडि देखा पर्दै जान थालेको छ । यस्तो स्थिति क्षम्य हुन सक्ने छैन् । 

तर ओलीले यसमा कुनै जवाफ दिन सकेका छैनन् । आत्मरतीमा रमाउने बाहेकका कुनै तथ्यगत आधारमा ओलीले प्रचण्डको यी प्रश्नहरुको जवाफ आफनो प्रस्ताव मार्फत दिन सकेका छैनन् । उनले पार्टीको घोषणापत्र अनुसार सरकारले के कति काम गरे ? भन्ने प्रचण्डले उठाएका प्रश्नमा पनि केही बोलेका छैनन् । मात्र सरकारले राम्रा काम गरिरहेको मिथ्या प्रचारबाजी (जनताको नजरमा होइन,ओली गुटका नजरमा रहेका) मा रमाउने प्रयास मात्र गरेका छन ।
 
प्रचण्डले आफनो प्रस्तावमा उठाएको अर्काे प्रश्न थियो–पार्टीका अन्य सबै नेताहरु जेठ ३ गतेको मदन–आश्रित स्मृति दिवस, फाल्गुण २१ गतेको सुखानीका सहिदहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदहरुको स्मृति दिवसमा सहभागी बनेर पार्टी एकताको मर्म र भावनालाई सम्मान गर्दछन् तर कमरेड केपी ओली भने कहिल्यै पनि फाल्गुण १ गतेको कार्यक्रममा सहभागी बन्न समेत तयार हुनुभएन । प्रचण्डले अझैं ओलीले पार्टी एकतालाई आत्मसाथ गर्न नसकेको भनी उठाएको यो प्रश्नको पनि जवाफ दिन सकेका छैनन् । उनले फागुन १ को कार्यक्रममा किन सहभागी बनेनन् ? यसको बारेमा केही बोलेका छैनन् । यसले पनि देखाउँछ प्रचण्डले अझै एकता स्वीकार गर्न नसकेको भनी लगाएको आरोपमा ओलीले जवाफ दिन सकेका छैनन् ।

वामदेव गौतमका विषयमा पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयनमा ओलीले देखाएको अरुचीमा पनि प्रचण्डले प्रश्न गरेका थिए । प्रचण्डले भनेका थिए– के.पी. शर्मा ओलीले आफ्नो सुविधा अनुरुप कहिले दुई अध्यक्षको सहमतिमा पार्टी चल्नुपर्ने, कहिले सचिवालयका सदस्यहरुका बीच सहमति हुनुपर्ने तर्क गर्नुभयो भने कहिले सचिवालयका सदस्यबाट राखिएको मत लत्याउदै आफुखुशी निर्णय गर्नुभयोे । पार्टी उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्ने सचिवालयको निर्णयको उहाँले ठाडै उलङ्घन गर्नुभयो । नेतृत्व तहमा समेत अविश्वास र आशंका सिर्जना गरियो ।

यसमा पनि ओलीले कुनै जवाफ दिएका छैनन् । आफु समेत उपस्थित भएर गत वर्ष फागुन १४ मा नेकपा सचिवालयले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । तर यो निर्णय ओलीले बारम्बार अटेर गरिरहे । अन्ततः फेरि पार्टीले यसमा थप निर्णय पनि लिनुपर्यो । बाध्य भएर उनले अन्तिममा आफनो समिकरणमा गौतमलाई फकाउन मात्र निर्णय कार्यान्वयन तिर चासो देखाए । यो त एउटा निमित्त उदाहरण मात्र हो ।

पार्टीले गरेका निर्णय कार्यान्वयनमा ओलीले त्यस्ता अनेक निर्णय पनि कार्यान्वयनमा टेरपुच्छर लगाएका थिएनन् । यस विषयमा प्रचण्डले उठाएका प्रश्नमा पनि ओलीले कुनै जवाफ दिएका छैनन् । दिउन पनि कसरी ओलीसँग त्यसको कुनै जवाफ पनि छैन् । प्रचण्डले ओलीले पटक पटक पार्टी विभाजन गर्ने उदेश्यले अध्यादेश ल्याउने देखि निर्वाचन आयोगमा ओलीकै योजनामा नेकपा एमाले नामको दल दर्ता सम्मको क्रियाकलाप गरेको प्रश्न उठाएका थिए । यो विषयमा पनि ओलीले केही बोलेका छैनन् आफ्नो प्रस्तावमा ।

विगतमा अलग पार्टीमा हुँदाका विषयलाई उचालेर उनले पार्टीमा संगै रहदाका प्रचण्डको विषयमा प्रश्न उनले उठाउन सकेका छैनन् । यसले पनि देखाउँछ, ओली पार्टी विभाजनको रोडम्याप तयार पार्ने तयारीमा मात्रै लागेका छन् ।