तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड । म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप । प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो । ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे ।
उनी अनेकौँ विवादमा परे । लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे ।
छोटा-मिठा फुटबल प्रतिभा
उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए ।
सानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन् । उनले ४९१ वटा खेलमा २५९ गोल गरे ।
फुटबलको अन्तर्राष्ट्रिय प्रशासनिक निकाय फिफाद्वारा मतदान नियम परिवर्तन गरेर दुवै खेलाडी सम्मानित हुनुअघि उनले २० औँ शताब्दीका महान् खेलाडी निर्धारण गर्न आफ्ना दक्षिण अमेरिकी प्रतिस्पर्धीसँगै एउटै पोलमा उभ्याएका थिए ।
म्याराडोनाले सानै उमेरदेखि विलक्षण प्रतिभा देखाए । जुनिअर टोली ला सेबोलिटसको नेतृत्व गर्दा उक्त टोलीले अपराजित १३६ वटा खेल खलेको थियो। त्यसपछि १६ वर्ष ४ महिनाको हुँदा उनले अन्तर्राष्ट्रिय खेलमा अवसर पाए ।
पाँच फुट पाँच इन्चका छोटा र गठिला । तर बल छल्ने कला, फुर्तिलोपन, अवसर छोपाइ, बलमाथिको नियन्त्रण, बल घुमाउँदै पास दिने क्षमताले गतिको कमी र यदाकदाको वजन समस्याको पूर्ति गरेको थियो।
'ईश्वरको हात र शताब्दीको गोल'
आर्जेन्टिनाका निम्ति ९१ खेलमा ३४ गोलले उनको अन्तर्राष्ट्रिय खेल जीवनको केवल एउटा पाटो देखाउँछ । उनको नेतृत्वले मेक्सिकोमा देशलाई सन् १९८६ को विश्वकप जितायो र चार वर्षपछि फाइलनमा पुर्यायो ।
अघिल्लो खेलको क्वार्टरफाइलनको विवादपछि त्यसले उनको जीवनलाई प्रभावित पार्ने पूर्वाभास थियो । इङ्ग्ल्यान्डविरुद्धको खेल त्यसै पनि निकै सङ्घर्षपूर्ण थियो । किनकि दुई देशबीच चार वर्षअघि मात्रै फोकल्यान्डस युद्ध भएको थियो ।
खेल सुरु भएको ५१ मिनेट सकिए पनि गोल हुन सकेको थिएन । म्याराडोना विपक्षी गोलरक्षकलाई रोक्न उफ्रिए र बललाई जालीभित्र छिराए ।
पछि उनले भनेका थिए- गोल भयो, 'थोरै म्यारानोडाको टाउकोलाई र थोरै ईश्वरलाई धन्यवाद ।' चार मिनेटपछि त्यसैलाई 'शताब्दी गोल अर्थात् गोल अफ द सेन्चुरी' को रूपमा वर्णन गरियो ।
"त्यो भव्य थियो भन्नुपर्छ । गोलबारे कुनै सन्देह छैन । त्यो साँच्चिकै विशुद्ध फुटबल प्रतिभा थियो," बीबीसीका टिप्पणीकार बेर्री ड्याभिसले भनेका थिए ।
म्याराडोनाले एउटा खेल जित्नुभन्दा पनि अङ्ग्रेजलाई परास्त गर्नु महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए ।
नापोलीका हिरो विवादको घेरामा
उनले दुई पटक खेलाडी खरिदको विश्व किर्तिमान कायम गरेका थिए । बोका जुनिअर्स छाडेर स्प्यानिस बार्सिलोनाका निम्ति सन् १९८२ मा ३० लाख पाउन्डमा विक्री भएका उनी दुई वर्षपछि ५० लाख पाउन्डमा इटलीको नापोली क्लबमा सरे ।
इटलीको स्टुडियो सान पाओलोमा हेलिकप्टरमा उनी पुग्दा त्यहाँ ८० हजार प्रशंसक थिए । उनी एक नयाँ हिरो थिए ।
उनले इटलीमा आफ्नो खेल जीवनको उत्कृष्ट क्लब फुटबल खेले । तर उनी आपराधिक सङ्गठन क्यामोर्वासँग जोडिए, कोकेनको लतमा परे र पारिवारिक मुद्दामा फस्न पुगे । डोपिङ परीक्षणमा पोजिटिभ देखिएपछि उनले १५ महिनाको प्रतिबन्ध समेत बेहोर्नुपर्यो ।
अवकाशपछिको जीवन
परीक्षणमा तेस्रो पटक पोजिटिभ देखिएपछि उनले आफ्नो ३७ औँ जन्मदिनमा फुटबलबाट सन्न्यास लिए । तर समस्याहरूमा पर्ने क्रम रोकिएन ।
म्याराडोनालाई पत्रकारहरूमाथि गोली चलाएको पहिलाको एउटा घटनामा दुई वर्ष १० महिनाको निलम्बित जेल सजाय दिइयो ।
कोकेन र मादक पदार्थ सेवन गर्ने बानीले उनको स्वास्थ्य समस्या गम्भीर बनायो । एक बखत उनको तौल बढेर १२८ किलोग्राम भयो । सन् २००४ मा हृदयाघात भएपछि सघन उपचार कक्षमै भर्ना गर्नुपरेको थियो ।
मोटोपन रोक्ने प्रयासमा उनको ग्यास्ट्रिक-बाइपास शल्यक्रिया गरिएको थियो । लागुपदार्थ दुर्व्यसनबाट मुक्ति पाउन सङ्घर्ष गरिरहेका बेला उनले क्युबामा शरण मागे ।
यस्ता अनेक झमेलाबीच सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीका व्यवस्थापक बने । तर जर्मनीसँग क्वार्टरफाइनलमा ४-० ले हारेपछि उनले उक्त जिम्मेवारी परित्याग गरे । उनको भूमिकालाई लिएर समाचारमा प्राथमिकता पाए र उनीप्रतिको दृष्टिकोण पनि विभाजित बनेको देखियो ।
अपमानजनक, प्रेरक, मनोरञ्जक, महान्, उचाइभन्दा माथि अर्थात् डिएगो म्याराडोना। एक असामान्य जीवन । - बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ मंसिर २०७७, १३ : ३२
लेखकबाट थप