बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, १२ : ०७
बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

काठमाडौं । नेवार समुदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ । 

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको हो । दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो ।

मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन । नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्ष सम्म पुननिर्माणका कारण बन्द रहेको थियो । तर अहिले पुननिर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

५ वर्ष पछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणहरु खुशी देखिएका छन् । यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस