पाल्पा । गत चैत ११ मा सरकारले लकडाउन गरेपछि जिल्लाका चार पालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेका थिए । रामपुर नगरपालिका, रैनादेवी छहरा, पूर्वखोला र माथागढी गाउँपालिकाले यस्तो निर्णय गरेका हुन् । सोहीअनुसार बाँझो जग्गाको उपयोग गर्ने किसानलाई नगद अनुदान दिइएको छ ।
बाँझो जग्गामा अन्नबाली र फलफूल लगाउने किसानलाई यहाँको रैनादेवी छहरा गाउँपालिकाले नगद अनुदान दिएको छ । दुई वर्षदेखि बाँझिएको जग्गामा अन्नबाली र फलफूल लगाएका १ सय १४ किसानलाई अनुदान वितरण गरिएको हो । बाँझो जमिनमा अन्नबाली लगाएका ८० र फलफूल खेती गर्नेर् ३४ जनालाई अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । अन्नबालीतर्फ प्रतिरोपनी ३ हजारका दरले १२ लाख ६६ हजार रुपैयाँ वितरण गरिएको छ । फलफूल खेतीमा प्रतिरोपनी २ हजारका दरले २ लाख ११ हजार रुपैयाँ वितरण गरिएको छ । खेतीयोग्य तर बाँझो ६ सय ३३ रोपनीमध्ये ४ सय २२ रोपनीमा अन्नबाली लगाइएको छ ।
२ सय ११ रोपनीमा फलफूल खेती गरिएको छ । यसका किसानलाई अहिले ५० प्रतिशत मात्रै अनुदान वितरण गरिएको उपाध्यक्ष चेतना थापाले बताइन् । कोरोनाबाट प्रभावित बनेका गाउँपालिकाभित्र रहेको बाँझो जमिनमा अन्नबाली तथा फलफूल खेती गर्नेलाई अनुदान वितरण गरिएको उनको भनाइ छ । संक्रमण फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिने हुँदा बाँझो जग्गामा तरकारी तथा फलफूल खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगद अनुदानको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए ।
आर्थिक संकट टार्न कृषि नै उपयुक्त भएकाले तरकारी, फलफूल तथा खाद्यान्नमा अनुदान दिइएको हो । कार्यपालिकाको बैठकबाट कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्ने किसानलाई राहतको निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको भनाइ छ ।
‘हामीले आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ,’ उनले भने, ‘यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ । त्यसतर्फ हामीले सोचेर काम गर्दै छौं ।’ रामपुर नगरपालिकाले बाँझो जमिनमा मकै रोपे प्रतिरोपनी ३ हजार दिएको छ । मौसमी तरकारी खेती गरे प्रतिरोपनी ५ हजार रुपैयाँ किसानले अनुदान पाएको उनले बताए । किसानले १ हजार १ सय रोपनीका लागि अनुदान लिन निवेदन दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ कार्तिक २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङका किसान सामूहिक खेतीमा आकर्षित
व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती