श्रमदान गरेर सडक स्तरोन्नति

आइतबार, २७ फागुन २०७४, १७ : ४९
श्रमदान गरेर सडक स्तरोन्नति

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले श्रमदान गरेर सडक स्तरोन्नति गरेका छन् ।

दूधेखोला–भकिम्ली सडक स्तरवद्विका लागि बेनी नगरपालिकाले सञ्चालन गरेको सो अभियानअन्तर्गत उपभोक्ताले ग्याबिन जाली लगाउने, निर्माण सामग्री ढुवानी र सडक ढलान गर्ने कामका लागि श्रमदान गरेका हुन् ।

घुम्ती सुधार गर्ने, फराकिलो बनाउने, ग्रेड मिलाउनेलगायत काममा डोजर प्रयोग गरेपनि ग्याबिन पर्खाल लगाउने र ढलान गर्ने काममा श्रमदान गरिएको उपभोक्ता समितिका अध्यक्ष भानुभक्त थापाले जानकारी दिनुभयो । बेनी नगरपालिकाले रु २४ लाख १२ हजार बजेट विनियोजन गरेको छ । उपभोक्ताले रु चार लाख २८ हजार बराबरको श्रमदान गरेका छन् ।

हल्लेगांैडा, चिनाखेत, डाँडाखानी, पानीस्वाँरा, कोप्रे र ज्यामिरेका बासिन्दाले प्रतिघरधुरी एक दिनका दरले श्रमदान गरेका छन् । सडक स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताउनुभयो ।

हल्लेगांैडाको भिरमा ८४ मिटर सडक ढलान गर्ने काम भइरहेको छ भने ५४ थान ग्याबिन जाली लगाइसकिएको छ । जनप्रतिनिधिको समन्वय, नियमित अनुगमन, उपभोक्ता समितिको सक्रियता र समुदायको जनसहभागितामा गत पुस १ गते सम्झौता भएको सो योजना निर्धारित समयमै सम्पन्न हुने वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

विसं २०६६ मा दूधेखोलादेखि हल्लेगांैडा, पानीस्वाँरा डाँडाखानी हुँदै डोले पु¥याइएको दूधेखोला भकिम्ली सडकको लम्बाइ १३ किलोमिटर छ । तत्कालीन जिविसको रु पाँच लाख, भकिम्ली गाविसको रु दश लाख र उपभोक्ताको रु नौ लाख लगानीमा ट्र्याक खोलिएको हो । बजेट अभावका कारण सडकको मर्मत हुनसकेको थिएन् ।

महेन्द्र माविको भवन निर्माण
रघुगंगा गाउँपालिका– ५ झिँस्थित महेन्द्र माविको नयाँ भवन निर्माण गरिएको छ । आन्तरिक स्रोत र समुदायको श्रमदान गरी रु ६४ लाखको लागतमा तीन तले छ कोठे पक्की भवन निर्माण गरिएको प्रधानाध्यापक याम गर्बुजाले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले रु ३२ लाख, साविक झिँ गाविसले रु १० लाख र रघुगंगा गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएका थिए । विद्यालयको आन्तरिक स्रोत र जनश्रमदान गरी रु १७ लाख लगानी भएको छ । विद्यालयमा २६० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस