कपडा व्यवसायी १० दिनदेखि बेपत्ता

शनिबार, २६ फागुन २०७४, १२ : १८
कपडा व्यवसायी १० दिनदेखि बेपत्ता

बेनी, म्याग्दी । जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् ।

गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडाँै हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानीमा व्यवसाय गर्दै आइरहेका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन् । घरबाट सामान खरिदका लागि हिँडेकै दिनदेखि नै मोबाइलमा सम्पर्क नभएपछि जिल्लाका विभिन्न स्थानका साथै मुस्ताङ र पोखरामा समेत खोजी कार्य गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । “उहाँको फोन पनि लाग्दैन, धेरै ठाउँमा खोजी कार्य गरियो”, श्रीमती हिमा लामा गुरूङले भन्नुभयो ।

श्रीमती गुरुङका अनुसार मोबाइलमा सम्पर्क नभएपछि आफन्तको सहयोगमा खोजी कार्य गरिएको छ । “खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दछु”, लामाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले भन्नुभयो । उहाँका अनुसार जिल्लाभित्र तस्वीरसहित हुलियाका बारेमा जानकारी भइसकेको छ । विगतमा काठमाडाँैमा कपडाको सामान लिने पसल, आफन्त तथा पोखरामा समेत खोजी कार्य भए पनि गुरुङ भेटिएका छैनन् । बेपत्ता गुरूङ गहुँ गोरो, अन्दाजी ५.५ फिट उचाइ, थेप्चो नाक र छाप्रो टोपी र कालो ज्याकेट लगाएको प्रहरीले जनाएको छ । यसैबीच तातोपानीका स्थानीयले समेत गुरूङको खोजी कार्य शुरु गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस