भरतपुर बाइपास सडक चार लेन बनाउन धमाधम काम

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १२ : २४
भरतपुर बाइपास सडक चार लेन बनाउन धमाधम काम

चितवन । भरतपुर महानगरभित्र रहेको भरतपुर बाइपास सडक भनेर केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडकलाई बुझिन्छ । अहिले यो सडकलाई चार लेन बनाउन धमाधम काम भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले बाइपास सडक निर्माणको दुबै प्याकेजका काम तीव्र रुपमा अगाडि बढिरहेको जनाएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले भरतपुर बाइपास सडक निर्माणको पहिलो प्याकेजको काम कोरोना भाइरसका कारण समयमै नसकिएको हुनाले गत असारमा निर्माणको समयसीमा थपिएको बताए । उनका अनुसार यो थपिएको समयसीमा चौथो पटक हो । तेस्रो पटकको समयसीमा गत चैतमा सकिएको हो । 

सडक डिभिजन कार्यालय भरतपुरले लकडाउनमा पनि बाइपास सडक निर्माणको काम नरोकिएको र अहिले पनि जारी रहेको जनाएको छ । यसअघि बाइपास सडक निर्माणको काम ज्यादै सुस्त गतिमा भएको भनी आलोचना भएको थियो । 

यस सडक निर्माणलाई पहिलो र दोस्रो प्याकेज भनेर छुट्टाइएको छ । पहिलो प्याकेज भनेको केन्द्रीय बसपार्कदेखि विशाल चोकसम्म र दोस्रो प्याकेज भनेको विशालचोकदेखि आँपटारीसम्मको सडक हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख अधिकारीले दुबै प्याकेजको काम यतिबेला अगाडि बढिरहेको बताए । उनले भने, ‘समयसीमा भित्रै भ्याउने गरी काम भइरहेका छन ।’ 

दोस्रो प्याकेजको कामको ठेक्का रायमाझी पशुपति जेभि कम्पनीले पाएको छ । यस कम्पनीले सम्झौता अनुसार दोस्रो प्याकेजको काम अर्थात् विशालचोकदेखि आँपटारीसम्मको सडकलाई दुई वर्षभित्र चार लेनको बनाइसक्नुपर्नेछ । 

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी ई शिव खनालले दोस्रो प्याकेजको काम पनि अगाडि बढिसकेको जानकारी दिए । उनले भने, ‘२६ करोडमा ठेक्का सम्झौता भएको छ, समयमै सक्ने गरी काम सुरु भइसकेको छ, पहिलो प्याकेजको काम अन्तिम चरणमा छ ।’

सडक कार्यालयका अनुसार पहिलो प्याकेजको काम केन्द्रीय बसपार्कदेखि विशालचोकसम्मको सडक निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । यो सडकको काम समयमै नसकेर पटकपटक गरी चोथो पटकसम्म म्याद थप गरिएको हो । सडकका प्रमुख अधिकारीले भने, ‘चोथौ पटक थप गरिएको म्याद आउँदो पुससम्म छ, कोभिडका कारण समयमै काम नसकेपछि म्याद थप गरिएको हो ।’ 

उनका अनुसार तेस्रोपटकको म्याद गएको चैतसम्म थियो, तर कोरोनाका कारण चैतमा काम नसकिँदा बीचमै रोकियो, अनि चौँथोपटक म्याद थपियो । २०७३ बाट काम सुरु भए पनि अझै यो सडक अधुरो नै छ । सडक चार लेनमा विस्तारका लागि पहिलो पटक २०७३ पुस १९ गते केन्द्रीय बसपार्क चोकदेखि विकासचोकसम्मको पहिलो प्याकेज २२ सय मिटर र चार लेन विस्तारका लागि सम्झौता भएको थियो ।

फुटपाथ र नालासहित चार लेनमा सडक निर्माण गर्ने गरी ठेक्का आह्वान भएको थियो । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको चार दशमलब ६ किलोमिटर सडकलाई आधुनिक डिजाइनमा सवारी चापअनुसार निर्माण गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुने र १४ मिटर पिच हुनेछ ।

पहिलो प्याकेजको सडक विस्तारको ठेक्का गौरीपार्वती निर्माण सेवाले पाएको थियो । यस कम्पनीले पहिलो प्याकेजको कामको कुल १२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएको हो । 

प्रतिक्रिया दिनुहोस