आईपीएलको सट्टेबाजीमा संलग्न ६ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १२ : २३
आईपीएलको सट्टेबाजीमा संलग्न ६ जना पक्राउ

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न ६ जना पक्राउ परेका छन् । 

प्रहरीले उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका कुलदीप शारण, भारतकै सञ्जीव शारण, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, भारत उत्तर प्रदेशको कानपुरका अजय गौतम, कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशल रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सोमेन्द्र सिंह राठौरका अनुसार कुलदिप कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ परेका हुन् । 

उनको साथबाट एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । 

त्यस्तै भारत घर भएका सञ्जीव शारणको साथबाट ११ हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका ६ जनाको साथबाट जम्मा १ लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस